वाइडबडीको जापान उडान भदौदेखि, अफ सिजन भएकाले सारेको निगमको दाबि

खरीबोट

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापानको ओसाका उडान गर्ने योजना डेढ महीनापछि धकेलिएको छ । निगमले आगामी असार १९ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने योजना बनाएको थियो ।

तर टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकुल रहेको भन्दै निगमले निर्धारित उडान तालिका परिवर्तन गरी आगामी भदौँ १२ गते (२९ अगष्ट २०१९) देखि नियमित उडान गर्ने तयारी गरेको छ । 

पर्याप्त यात्रु नभएकाले ओसाका उडान तालिका परिवर्तन गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनले भने, “जापानबाट उडान अनुमति पाएपछि आवश्यक तयारीका साथ टिकट बुकिङ खोलियो, एक महीनाको अवधिमा पाँच-सात जना मात्र यात्रु भए, पर्यटकीय सिजन सकिएको र जापान जाने विद्यार्थीले पहिले नै अन्य एयरलाइन्सको टिकट लिइसकेकाले पनि यात्रु कम भएको हुनसक्छ । अब मनसुन सकिएपछि भदौ १२ गतेदेखि ओसाका उडान गर्ने गरी तयारी गरेका छौँ ।” 

सहायक प्रवक्ता कोइरालाका अनुसार अहिलेकै अवस्थामा ओसाका उडाउँदा प्रति उडान दुईतर्फी काठमाडौँ–जापान रु एक करोडभन्दा बढी निगमले आर्थिक घाटा बेहोर्नुपर्छ । अगष्ट महीनामा उडान गर्दा निगमलाई राम्रै फाइदा पुग्छ । पर्यटकीय सिजन शुरु हुनका साथै महत्वपूर्ण चाड पर्वको समय पनि भएकाले यात्रुको कमी नहुने निगमको दाबी छ । अगष्टको उडानका लागि अहिले प्रति उडान ७० देखि ८० टिकट बुकिङ भइसकेका सहायक प्रवक्ता कोइरालाले बताए ।

सम्बन्धित ट्राभल एजेन्सिसँग पनि छलफल गरी उनीहरुको सुझावका आधारमा उडान केही पर सारिएको निगमको भनाइ छ ।

निगमले वाइड बडी ए–३०३० जहाजमार्फत लामो गन्तब्यमा उडान भर्ने योजनाका साथ जापानका विभिन्न गन्तब्यमा उडानका लागि पहल गरेको थियो । शुरुमा अप्रिल महीनामा उडान गर्ने गरी जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) सँग उडान अनुमति मागेको थियो तर अनुमति पाउन सकेन ।

पछि जुलाई ४ का लागि उडान अनुमति पायो । त्यसअनुरुप आवश्यक तयारी तीव्र बनाएको थियो । टिकट बुकिङ खुलायो । एक महीनाको अवधिमा काठमाडौँदेखि ओसाका दुवैतर्फ जम्मा पाँचदेखि सात सिट मात्र बुकिङ भयो । उसैपनि घाटा बेहोरिरहेको निगमले थप घाटा खाने गरी तत्काल उडान नगर्ने निर्णय गर्यो ।

जापानसहितका अन्य लामा गन्तब्यमा निगमका वाइड बडी उडानबारे अझै अन्यौलता रहेको छ । मन्त्रालयका अधिकारीलाई निगमका लामा गन्तब्यमा उडान भर्नेबारे प्रष्ट धारणा छैन । अनेकौ चुनौतीको सामना गर्दा गर्दै पनि निगमले आफ्नो आफ्नो व्यावसायिक योजनालाई भने निरन्तरता दिएको छ । उसले जापानसँगै चीन, साउदी अरेबिया, दक्षिण कोरियालगायत गन्तब्यमा उडान भर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।

निगमले वाइड बडी जहाज हाल पुराना गन्तब्य भारतको नयाँ दिल्ली, बैङ्गलोर, कतारको दोहा, दुबई र हङकङमा दैनिक १० देखि ११ घण्टा उडान गर्दै आएको निगमले जनाएको छ । निगमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ । निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो । 

काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । निगमले अहिले भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ ।

निगमसँग अन्तरर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।

सम्बन्धित समाचार

नेपाल एयरलाइन्सको जापान उडान : भदौ १२ गतेदेखि ओसाका शुरु हुने

काठमाडौँ । लामो गन्तब्य नपाएको भन्दै आलोचनामा परेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि जापानको ओसाका उडान गर्ने भएको छ । जापान उडानबारेको अन्यौललाई

नेपाल एयरलाइन्सका कागजात अध्ययन गर्दै कार्यदल

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सुधारका लागि गठित ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ ले निगमका पुराना कागजातको अध्ययनका साथै  विज्ञसँग परामर्श गरिरहेको

भ्रमण वर्ष लक्षित गर्दै नेपाल एयरलाइन्स धमाधम परीक्षण उडानमा

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानलाई थप विस्तार गर्न धमाधम परीक्षण उडान शुरु गरेको छ । भ्रमण

नेपाल एयरलाइन्स सुधारको सुझाव दिन मन्त्रीले बनाए कार्यदल

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा सुधार ल्याउने विषयमा सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गरेको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको


z