• २०८१ बैशाख ११ मंगलबार

लगातारको इन्जुरी र विवादले नेइमारको मुल्य घट्यो !

kharibot

काठमाडौँ । लगातार विवाद र इन्जुरीको समस्याले ग्रसित ब्राजिलका फुटबलर नेइमारको मुल्यमा ८० मिलियन युरोले कमी आएको छ ।

खेलाडीको ब्राण्ड भ्यालुसम्बन्धि अध्ययन गर्ने संस्था सिआईइएस फुटबल अब्जरभाटोरीले जारी गरेको रिपोर्टमा नेइमारको मुल्य घटेको उल्लेख गरेको छ ।

पछिल्लो ६ महिनामा नेइमारले मैदान र मैदान बाहिर गरेका गतिबिधिका कारण उनको मुल्यमा कमि आएको सो रिपोर्टमा उल्लेख गरिएको छ ।

सन् २०१७ मा २२२ मिलियन युरोमा बार्सिलोनाबाट फ्रेन्च क्लब पिएसजी गएका नेइमारले उत्कृष्ट प्रदर्शन गर्न संघर्ष गर्दै आएका छन् । यस सिजनमा समेत उनी लिग वान र च्याम्पियन्स लिगमा समेत पुरा सिजन खेल्न सकेनन बहने पछिल्लो समय ब्राजिलको कोपा अमेरिका टिमबाट समेत बाहिरिएका छन् ।

यति मात्र होइन मैदान बाहिर उनको व्यबहारका कारण पनि उनी विवादमा पर्दै आएका छन् । लिग वान र च्याम्पियन्स लिगका खेलमा समेत प्रतिबन्धमा परेका नेइमार आफ्ना सहकर्मी किलीयन एम्बाप्पेसँगको विवाद समेत चर्चामा रहेको थियो ।

त्यस्तै पछिल्लो समय उनीमाथि ब्राजिलकी एक मोडललाई बलात्कार गरेको आरोप लागेपछि त उनको लोकप्रियता झन खस्किएको बताइएको छ । 

यी सबै प्रकरणपछि अहिले नेइमारको मुल्य १२० मिलियन युरोको आसपास रहेको सिआईइएस फुटबलले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

ब्राजिलको कोपा खेल्ने टिमबाट बाहिरिएका नेइमार अहिले आफूमाथि लागेको बलात्कारको आरोपविरुद्ध कानुनी लडाईमा रहेका छन् ।

यसका साथै पछिल्लो समय नेइमारले पिएसजी यसै सिजनमा छोड्ने र बार्सिलोना जाने सम्भावन बढेको मिडिया रिपोर्ट समेत सार्वजनिक भएको छ । नेइमार बार्सिलोना जान सक्ने भएकै कारण एन्टोनी ग्रीजम्यानका विषयमा अहिले कुनै कुराकानी नभएको समेत मिडिया रिपोर्टमा उल्लेख छ ।

पिएसजीमा दुई सिजन खेलेका नेइमारले कुल ५८ खेल खेल्दै ५१ गोल गरेका छन् । जसमा पहिलो सिजनमा ३० खेल खेल्दै २८ गोल गरेका थिए भने यस सिजनमा २८ खेल खेल्दै २३ गोल गरेका छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै