मुम्बई । रियल जोडी रणवीर सिंह र दीपिका पादुकोणले नयाँ फिल्ममा श्रीमान श्रीमतीको भूमिकामा देखिने निश्चित भएको छ ।
भारतको पहिलो क्रिकेट वर्ल्ड कपको जित बारे कपिलदेवको जीवनीमा बन्न लागेको फिल्म ८३ मा दीपिका आफ्ना पति रणबीर सिंहको अपोजिटमा देखिने भएको फिल्म निर्माण पक्षले आधिकारिक रुपमा जानकारी दिएको छ ।
फिल्म ‘८३’ मा रणवीर सिंहले क्रिकेटर कपिल देवको भूमिका निभाउँदैछन् र दीपिका पादुकोण यस फिल्ममा कपिलको श्रीमतीको भूमिकामा देखिने भएकी हुन् ।
फिल्ममा दीपिकाको कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिका निभाउँदैछिन् । फिल्मको कहानीमा एक सिन यो पनि छ, जब भारतको विकेट गिर्न लाग्छ तब उनी स्टेडियमबाट निक्लिएर जान्छिन् । जब उनी फर्किन्छिन् तब भारतले खेल जित्न थाल्छ ।
फिल्मलाई चर्चित निर्देशक कबिर खानले निर्देशन गरेका छन् भने फिल्म अर्को बर्ष अप्रिल १० मा रिलिज हुदै छ ।
यस अघि रामलीला, पद्मावत र बाजीराव मस्तानीमा एकसाथ काम गरेका रणवीर र दीपिका सन् २०१३ मा रिलिज भएको फिल्म रामलीलाबाट प्रेममा परेका थिए ।
गत वर्ष लगनगाँठो कसेका उनीहरु दुवैले सँगै अभिनय गरेका तीन फिल्मको भने गजब संयोग रहेको छ । तिनै फिल्ममा उनीहरुको मृत्यु भएको देखाइएको थियो ।