• २०८१ बैशाख ६ बिहीबार

समृद्धिका लागि तीनवटै सरकारबीच समन्वय हुनुपर्छ : मुख्यमन्त्री पौडेल

kharibot

मकवानपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको विकास र समृद्धिका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्ने बताएका छन् ।

आज यहाँ शुरु भएको प्रदेश परिषद्को दोस्रो बैठकलाई उद्घाटन गर्दै उनले नेपालको संविधानभन्दा माथि कोही पनि छैन, त्यसैले स्वायत्त भएको भन्दैमा स्थानीय सरकार सर्वोपरि नभएको बताए ।

मुख्यमन्त्री पौडेलले भने, “हामीले हाम्रो काम गर्ने शैलीलाई परिवर्तन गरेनौँ भने मुलुकमा समृद्धि प्राप्त हुँदैन, हामी परिवर्तनको वाहक हौँ भनेर मात्र हुँदैन, हामीले सामाजिक र आर्थिक रुपान्तरण गर्न जरुरी छ ।”

प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउन विपन्न, गरीब, उत्पीडित, पिछडिएका र विकासबाट वञ्चित रहेका समुदायको उन्नयनका लागि तीनवटै सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता आँैल्याए ।

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशबाट प्रकाशित वस्तु विवरण समेटिएको पुस्तक सार्वजनिकसमेत भएको थियो । दुई दिनसम्म चल्ने सो बैठकमा प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका २३८ प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको छ ।

सहकार्य भए सरकार सफल हुन्छ : मन्त्री जम्मरकट्टेल

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले सङ्घीय, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो अधिकारलाई सही ढङ्गले बुझ्न नसक्दा समस्या भएको बताए ।

आजदेखि यहाँ शुरु भएको प्रदेश नं ३, प्रदेश परिषद्को दोस्रो बैठकमा उनले भने, “तीनै तहको सरकारको काम, कर्तव्य र अधिकारका बारेमा संविधानले प्रष्ट व्यवस्था गरे पनि विकास निर्माणका सवालमा ती सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुन नसक्नु दुःखद् कुरा हो ।”

मन्त्री जम्मरकट्टेलले स्थानीय सरकारले प्रदेशसभा सदस्यसँग सहकार्य गरेन भन्ने गुनासो आएको बताउँदै तीनवटै सरकारबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।

प्रदेश नं ३ का मुख्यसचिव आनन्दराम ढकालले मुलुकको विकास र समृद्धिका लागि तीनवटै सरकारका बीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता औँल्याए ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै