• २०८१ बैशाख १३ बिहीबार

आध्यात्मिक पुनःजागरण प्रारम्भ : मुख्यमन्त्री गुरुङ

kharibot

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै मुलुकमा धार्मिक, आध्यात्मिक एवं सांस्कृतिक पुनःजागरण प्रारम्भ भएको बताएका छन् ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा पोखरा उपमहानगरपालिका–१८ धारापानी मार्गमा निर्माण गरिने विन्ध्यवासिनी गुरुकूल विद्याश्रम भवनको आज शिलान्यास गर्दै उनले सम्पदाको संरक्षण गर्दै त्यसबाट मानव हितका लागि उपयोग गर्ने जागरण आएको बताए ।

आर्थिक समुन्नतिका माध्यमबाट समृद्धि हासिल गर्दै नागरिकलाई सुखी बनाउनु पर्दछ भन्ने स्वदेश र प्रवासमा रहनु हुने सम्पूर्ण नेपालीमा अभूतपूर्व लहर आएको बताउँदै मुख्यमन्त्री गुरुङले त्यसले राष्ट्र र जनताको प्रतिष्ठा बढाएको उल्लेख गरे ।

गण्डकी प्रदेशको समृद्धिका लागि धार्मिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले बताउँदै उहाँले सम्पदाको संरक्षणबाट नै मानव जातिको संरक्षण हुने विश्वास व्यक्त गरे । विन्ध्यवासिनी गुरुकूल विद्या आश्रम प्रदेशको गौरव भएको विश्वास व्यक्त गर्दै उनले भवन निर्माणका लागि बजेटमा सरकारले बीउपूँजीको रुपमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कालीगण्डकी डाइभर्सनले पवित्र भूमि देवघाटलाई संकटमा पार्नुका साथै सम्पूर्ण इकोसिष्टम प्रभावित हुने भएकाले धार्मिक, मानव र प्राकृतिक नियमका विरुद्ध हुने कुनै पनि गतिविधि सरकारलाई मान्य नहुने उनले धारणा राखे ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले मन्दिरको २६ रोपनी गुठी जग्गामा गुरुकूल विद्याश्रमका लागि आवश्यक भौतिक संरचनाका साथै होमन मण्डप, गाई गोठ, बगैँचालगायत विभिन्न आकर्षक योजना अगाडि सारेको जानकारी दिए ।

गुरुकूलका प्रमुख स्वामी निशेषानन्दले अध्यात्मवादले विश्वशान्ति र राष्ट्रवादप्रति विशिष्ठ विचार प्रदान गरेको बताउँदै शास्त्रको अध्ययनमा युवा पुस्तालाई आकर्षण गरिनुपर्नेमा जोड दिए । धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले रु १३ करोडको लागतमा निर्माण गरिने सो गुरुकूल आश्रम भवनका लागि नेपाल सरकारबाट रु एक करोड ५० लाख, स्वामी निशेसान्दबाट रु १५ लाख र स्वामी वोदानन्दबाट रु १० लाख प्राप्त भएको जानकारी दिए ।

उनका अनुसार २०५१ सालदेखि सञ्चालन गरिएको गुरुकूल विद्याश्रममा हाल कक्षा ६ देखि ९ को पढाइ भइरहेको छ भने भविष्यमा कक्षा १२ सम्म १०० जना विद्यार्थीलाई आवासीय रुपमा निःशुल्क पढाइने संस्थाको लक्ष्य रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै