• २०८१ बैशाख ७ शुक्रबार

सार्वजनिक स्थानको पहिचानमा जुट्यो कामपा

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिका सबै वडाका खुला सार्वजनिक स्थानको पहिचान र संरक्षणमा जुटेको छ । कामपा–१० मा यसअघि व्यक्तिको नाममा रहेको दुई रोपनी सार्वजनिक जग्ग्गालाई पनि यस वडाले तारबार गरी संरक्षण गर्ने तयारी गरेको छ ।

यसअघि जे एण्ड तण्डुकरले आफ्नो हो भन्दै दाबी गरेको जग्गा सार्वजनिक हो भन्ने प्रमाणित भएपछि १० नम्बर वडाले आज संरक्षण गर्ने तयारीमा जुटेको वडाध्यक्ष रामकुमार केसीले जानकरी दिए । अध्यक्ष केसीका अनुसार जेठ महीनाको पहिलो साता नै वडाध्यक्षको संयोजकत्वमा सार्वजनिक जग्गा पहिचान र संरक्षण समिति पनि गठन गरिसकेको छ ।

‘‘समितिले यसअघि जानकारीमा नआएको सबै सार्वजनिक जग्गाको पहिचान र संरक्षण गर्ने कार्यमा लागिरहेको छ’’, केसीले भने, “यस वडामा हालसम्म १५ रोपनी जग्गाको पहिचान भएको छ । आज संरक्षण गर्न लागिएको उक्त जग्गा युएन पार्कअन्तर्गत पर्दछ ।”

बत्तीस वडा रहेको कामपामा हालसम्म वडा नं ३, ६ र २९ मा रहेको सार्वजनिक जग्गाको पहिचान भइसकेको छ । वडा नं ३ मा १५, ६ मा १० र २९ मा नौ रोपनी सार्वजनिक जग्गाको पहिचान गरिएको हो । कामपाले चालू आर्थिक वर्षमा सार्वजनिक जग्गा पहिचान र संरक्षण गर्न रु तीन करोड विनियोजन गरेको छ ।

कामपाका अनुसार वडा नम्बर ३ मा पहिचान भएको जग्गालाई संरक्षण र सबैको पहुँचमा ल्याउन बगैँचा निर्माणका लागि डिजाइनको काम भइसकेको छ । अन्य वडाको जग्गा पहिचान गर्न सात महीनाअघि नै कामपा प्रमुख विद्यासुन्दर शाक्यले सबै वडाध्यक्षलाई निर्देशन दिएका थिए । ती सबै जग्गाको पहिचान गरी प्रयोगमा ल्याइने कामपाको योजना छ ।

यसअघि केही सार्वजनिक जग्गामा व्यक्तिगत व्यवसाय सञ्चालन हुँदै आएको थियो । कतै टहरा बनाएर नागरिकले जीवन गुजारिरहेका थिए । अब ती सबै सञ्चालन भइरहेका व्यवसाय र टहरा हटाई सामूहिक प्रयोगमा ल्याइने कामपाको भनाइ छ ।

कामपाले चालू आव २०७५÷७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै