• २०८१ बैशाख ७ शुक्रबार

सिमेन्टपछि क्लिङ्करमा आत्मनिर्भर बन्दै 

kharibot

तस्बीर : खरीबोट

काठमाडौं । केहि वर्ष अघिसम्म भारतीय सिमेन्टमा भर पर्ने नेपाली बजार अहिले त्यसको ठीक विपरित निर्यातको चरणमा पुगेको छ । योसँगै नेपाली बजारको मागलाई नेपालमै उत्पादित सिमेन्टले पूरा गरेको तथ्यलाई पृष्टि गरेको छ अर्थात् नेपाल सिमेन्टमा आत्मनिर्भर बनिसकेको छ । गतवर्षदेखि नेपाल सिमेन्टमा आत्मनिर्भर बनेको नेपाल सिमेन्ट उत्पादक संघको भनाई छ । 

उद्योग विभागका अनुसार चालू आर्थिक वर्षमा मात्र नेपाली व्यवसायीहरुले सिमेन्ट उद्योगमा १९ अर्ब भन्दा बढी लगानी गरेका छन् । 

सिमेन्टमा आत्मनिर्भर र उत्पादनमा वृद्धि गर्न सक्ने क्षमता भए सँगै निर्यात प्रवन्ध मिलाउनको लागि संघले सरकार समक्ष आग्रह समेत गरेको छ । संघले निर्यात प्रवन्ध मिलाउने क्रममा विभिन्न मन्त्रालयका सरकारी निकायका पदाधिकारीसँग छलफल समेत अघि बढाएको संघले जनाएको छ । हामीले अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायतका सम्वन्धित पक्षहरुसँग छलफल अघि बढाएका छौं संघका महानिर्देशक गोकूल प्रसाद धितालले खरीबोटसँग भने । 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत सिमेन्टलाई निर्यातजन्य उद्योगतर्फ उत्पेरित गर्ने उल्लेख गरेको छ । सिमेन्टको निर्यातको लागि सरकारी पक्ष र निजी क्षेत्रले दुवैले आ–आफनो ठाँउबाट पहल गनुपर्ने बताउँछन् महानिर्देशक धिताल ।

यस्तै संघले सिमेन्ट निर्यातको लागि छिमेकी मुलुक भारत र बंगलादेशको बजारलाई लक्षित गरेको छ । छिमेकी मुलुक भारतका नेपालसँगको नजिकका सहरहरुमा सिमेन्ट निर्यात गर्न सहज हुने संघको भनाई छ । सिमेन्ट निर्यात गर्दा मुलुकको व्यापार घाटामा समेत केहि मात्रामा भए पनि कमी आउने देखिन्छ भने सरकारले पनि निर्यातजन्य उत्पादनलाई प्राथमिकता दिने भनेको छ ।

 मुलुकमा ६५ वटा गुणस्तर चिन्ह प्राप्त सिमेन्ट उद्योगहरु निरन्तर सञ्चालनमा रहेका छन् । ती उद्योगहरु पनि ६० देखि ७० प्रतिशतको क्षमतामा सञ्चालन भएका संघको भनाई छ । बजारको मागलाई धान्नको लागि शतप्रतिशत अर्थात् सय प्रतिशत क्षमता आवश्यक नहुदाँ ६० देखि ७० प्रतिशत क्षमतामा उद्योग सञ्चालन गरिएको महानिर्देशक धितालले बताए । ‘शतप्रतिशत क्षमतामा उद्योग सञ्चालन गर्ने हो भने उत्पादित सिमेन्ट बजारको माग भन्दा बढी हुन्छ, त्यसैले पूर्ण क्षमतामा सञ्चालन नगरिएको हो निर्यातको सम्भावना छैन,’ उनले भने । 

नेपालमा गत वर्ष ९० लाख टन सिमेन्ट उत्पादन भएको र करिब त्यति नै मात्रामा खपत भएको छ । हाल वार्षिक ९० लाख टन सिमेन्ट उत्पादन भइरहेको छ भने शतप्रतिशत क्षमतामा उद्योग सञ्चालन गर्ने हो भने एक करोड ३० लाख टन सिमेन्ट उत्पादन हुने संघको भनाई छ । यस्तै उद्योगहरुले उत्पादनमा वार्षिक १० देखि १५ प्रतिशत वृद्धि गरेको छ । संघका अनुसार हाइड्रो, सडक, पुल तथा व्यवसायीक भवनहरु निर्माण हुने क्रम बढ्दो हुदाँ उत्पादनमा वृद्धि गरिएको हो ।

विभागमा ११४ वटा सिमेन्ट उद्योग दर्ता भएका छन् । जसमध्ये कुनै उत्पादन प्रक्रियामा रहेको र कुनै निर्माण चरणमा रहेको विभागले जनाएको छ । सरकारले लिएको नीतिका कारण नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको व्यवसायीहरुले बताउदै आएका छन् । सिमेन्ट उद्योगमा दुई खर्ब रुपैयाको लगानी भएको र वार्षिक एक अर्ब ५० अर्ब रुपैयाँको कारोबार हुँदै आएको पाउन सकिन्छ ।

संसारमा सन् १८४५ देखि सिमेन्ट उत्पादन सुरु भएको पाइन्छ भने नेपालमा भने सन् १९६० देखि मात्रै उत्पादन सुरु गरिएको थियो । नेपालमा हिमाल सिमेन्ट (चोभार) ले पहिलो उत्पादन सुरु गरेको थियो ।

क्लिङ्करमा पनि आत्मनिर्भर बन्ने

संघले विस्तारै सिमेन्टका लागि आवश्यक कच्चा पर्दाथ क्लिङ्करमा समेत आत्मनिर्भर बन्दै जाने अवस्था आएको जनाएको छ ।  सिमेन्ट उद्योगमा वार्षिक ७० लाख टन क्लिङ्कर खपत हुने गर्छ । उद्योगहरुले हाल नगण्य रुपमा क्लिङ्कर आयात गरेको छ ।

क्लिङ्कर उत्पादनको लागि आवश्यक पर्ने खानीको विषयमा सरकारको स्पष्ट नीति नहुदाँ अवरोध पुगेको उद्योगीहरुको भनाई छ । यदि नीतिगत अवरोध नभएमा अबको दुई वर्ष भित्रमा क्लिङ्करमा समेत आत्मनिर्भर बन्ने उद्योगीहरुले बताउदै आएका छन् ।

पछिल्लो वर्षहरुमा यसको आयात घट्दो क्रममा छ । आर्थिक वर्ष २०७३-७४ मा करिब ४० प्रतिशत र गत आव २०७४-७५ मा करिब ३० प्रतिशतमा झरेको छ । चालु आवमा १० देखि १५ प्रतिशतमा रहने र आर्थिक वर्ष २०७६-७७ मा मुलुक आत्मनिर्भर हुने उद्योगीहरु बताउँछन् । चुरे पहाडमा क्लिङ्कर उत्पादनका लागि आवश्यक चुनढुङ्गा खानी प्रशस्त रहेका छन् । खानी सञ्चालनको लागि खानी तथा भूगर्भ विभाग , वन मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँग समन्वय गर्नु पर्दा उद्योगीहरु समस्यामा परेका छन् । उनीहरुका अनुसार मुलुक मै सिमेन्टका लागि आवश्यक कच्चा पर्दाथ क्लिङ्कर पर्याप्त मात्रामा छ अवरोध हुनु नै उद्योगका लागि दुर्भाग्य हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै