• २०८१ बैशाख ५ बुधबार

यार्सा टिप्न जनता पाटनमा, विकास निर्माणका काम अलपत्र

kharibot

डोल्पा । स्थानीयवासी डोल्पाका विभिन्न पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि गएपछि जाजरकोट र डोल्पाका गाउँमा विकास निर्माणको काम ठप्प भएको छ । विकासे कामदेखि विद्यालयमा पढाइसमेत प्रभावित हुँदै समस्या भएको स्थानीय तहले बताएका छन् ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य सामुदायिक वनले डोल्पामा जेठ १३ देखि असार २५ सम्मका लागि जिल्लाका पाटनमा यार्सा सङ्कलन खुला गरेको छ । स्थानीय बासिन्दा यार्साको खोजीमा हिँडेपछि गाउँमा सञ्चालित खानेपानी, बाटो, भवन, सिँचाइलगायत विकासका काम रोकिएका छन् ।

यार्सागुम्बा सङ्कलन गरेर स्थानीयवासी पाटनबाट नआएसम्म विकास निर्माणका काम अगाडि बढ्न मुस्किल भएको नलगाड नगरपालिकाले जनाएको छ । जाजरकोटका सात स्थानीय तहमध्ये पूर्वका स्थानीय तहका विकास निर्माणमा समस्या भएको छ । नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, भेरी नगरपालिका, कुशे गाउँपालिकामा विकास निर्माणको काम प्रभावित हुँदा समस्या भएको हो ।

यार्सा ‘सिजन’ले विकास निर्माणका योजनामा काम गर्ने मजदुर पाइन छाडेपछि प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत प्रभावित भएको छ । बेरोजगारको आवेदन दिएका युवा डोल्पामा यार्सागुम्बा टिप्न गएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत छनोटमा समस्या भएको हो । हिउँदमा भारतमा कमाइ गर्न जाने र जेठ र असारमा यार्सा सङ्कलन गर्ने ‘सिजन’ हुने भएकाले डोल्पामा विकासका काम न्यून हुने गरेको छ  ।

पूर्वका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ देखि माथिका सबै छात्रछात्रा यार्सा टिप्न जाँदा पढाइ प्रभावित भएको वीरेन्द्र ऐश्वर्य माविका शिक्षक कालीप्रसाद थापाले बताउनुभयो । उहाँका अनुसार अहिले विद्यालयमा विद्यार्थीको सङ्ख्या ७० प्रतिशतले घटेको छ । त्यस्तै हिउँदमा मौसमी बसाइँसराइका कारण जिल्ला छाड्ने र सिजनमा यार्सागुम्बा सङ्कलन गर्न स्थानीयवासी पाटनमा जाने भएकाले डोल्पाका गाउँ सुनसान मात्र बनेका छैनन्, विकास निर्माणका काम ६० प्रतिशत पनि भएको छैन । जगदुल्ला, भित्रवन, कागमारा, फूलबारी, कुनासा, भोक्पा, भम्पे, डोप्के, माटे, छमकुनी, बासुदा, नाउरे, सागरलगायत पाटन जेठ १३ बाट यार्सा टिप्न खुला गरिएसँगै अहिले हजाराँै स्थानीयवासी अस्थायी मानव बस्ती बनाएर पाटनमा यार्सागुम्बा सङ्कलन गरिरहेका छन् ।

युवा यार्सा सङ्कलन गर्न विभिन्न पाटन गएपछि गाउँमा वृद्ध र स–साना बालबालिका मात्र रहेको मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले बताए । बालबालिकासमेत यार्सा टिप्न पाटनतिर गएपछि विद्यालय बन्द भएको उनले बताए  । पाटन नजिकका गाउँका बासिन्दाले पशुचौपाया पाटन क्षेत्रमै लगेका छन्  । घरमा ताला लगाएर अधिकांश परिवार यार्सा टिप्न पाटन पुगेको ठुलीभेरी नगरपालिकाका स्थानीय शिक्षक रामबहादुर थापाले बताए ।

विद्यार्थी नआउँदा शिक्षक हाजिर गर्दै घाम तापेर फर्कने गरेको सरस्वती मावि दुनैका प्रधानाध्यापक सत्यनारायण सिंहले जानकारी दिए  । उनका अनुसार विद्यालयमा अध्ययनरत ५६७ विद्यार्थीमध्ये पाँच÷सात विद्यार्थी मात्र आउन थालेपछि पठनपाठन रोकिएको छ । अमरसिंह आधारभूत विद्यालय मुहु, हिमज्योति आधारभूत सार्कीटोल, काञ्जिरोवा आधारभूत दापु र तापीरिचा माविमा भने १ कक्षादेखि ३ सम्म मात्र पढाइ भइरहेको छ ।

जिल्लाका ११३ विद्यालयमध्ये १०९ मा शिक्षक र विद्यार्थी नियमित उपस्थित नभएपछि पठनपाठन रोकिएको हो । शिक्षक नै यार्सागुम्बा व्यापारमा पुगेको पाइएको छ । केही शिक्षक नेपालगञ्ज, सुर्खेत र काठमाडाँैमा आफन्त भेट्न पुगेको पाइएको छ । शिक्षा एकाइले जिल्लाका कुनै पनि विद्यालय बन्द नगर्न आग्रह गरे पनि त्यो कुरा कार्यान्वयन हुनसकेको छैन । यहाँका सबै स्थानीय तहमा शिक्षा शाखामा कर्मचारीसमेत नहुँदा काम गर्न समस्या भएको एकाइ प्रमुख सिंहराज डाँगीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत अहिलेसम्म सञ्चालन हुनसकेको छैन । ढुवानी गरेर ल्याएका निर्माणका सामग्रीसमेत बाटोमै अलपत्र परेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै