• २०८१ बैशाख ८ शनिबार

मालीको शान्ति प्रक्रिया नयाँ चरणमा

kharibot

स्वीट्जरल्याण्ड । मालीका लागि राष्ट्रसंघीय विशेषदूत महामत सालेह अन्नाडिफले पश्चिम अफ्रिकी मुलुक मालीमा जारी हिंसात्मक घटनामा नाटकीय रुपमा सुधार आएकाले शान्ति प्रक्रिया नै नयाँ चरणमा प्रवेश गरेको बताए ।

अन्नाडिफले सन् २०१५ मा माली सरकार र सशस्त्र विद्रोहीबीच भएको शान्ति सम्झौताले ठोस प्रगतिका निम्ति अझै पनि अवसर प्रदान गरेको चर्चा गर्दै आगामी ६ देखि १२ महिनाभित्रै शान्ति प्रक्रिया नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरे ।

माली सरकारले सन् २०१२ यता निकै संवेदनशील परिस्थितिको सामना गरेको भएपनि मुलुकको स्थायित्वका लागि निरन्तर पहल गरेको छ । यसबीचमा एउटा सैनिक विद्रोह, सरकारी फौज र टुआरेज विद्रोहीबीच सशस्त्र संघर्ष पुनः आरम्भ तथा उत्तरी ठूलो भूभागमा अतिवादीहरुले कब्जा गर्नेजस्ता ठूला घटना भएको थिए ।

तर गत अप्रिल २२ मा प्रधानमन्त्री बोबु सिस्सेको चयनसँगै प्रमुख दल र विपक्षी दलबीच सम्झौता तथा विभिन्न पक्ष सम्मिलित सर्वपक्षीय सरकारको निर्माणले मुलुकको शान्ति प्रक्रियालाई नयाँ चरणमा प्रवेश गराएको छ ।

उत्तरी मालीमा विकास क्षेत्रको गठन समेतका राजनीतिक र संस्थागत सुधार गरिएको बताउँदै अन्नाडिफले शान्ति सम्झौताको मुख्य उद्देश्यका रुपमा रहेको जनतालाई आधारभूत सेवा उपलब्ध गराउने सरकारी प्रतिबद्धता पूरा हुनेक्रममा रहेको जानकारी दिए ।

मालीका लागि राष्ट्रसंघीय शान्ति मिसनको समेत नेतृत्व गरेका अन्नाडिफले राजनीतिक विषयमा सहमति भए पनि मुलुकको सुरक्षा व्यवस्थामा सुधार नै प्रमुख पक्ष रहेको बताए ।

मालीका कतिपय भित्री इलाकामा गाउँलेमाथि शृङ्खलाबद्ध आमहत्याका घटना बढ्दै गएपछि सर्वत्र चिन्ता व्यक्त हुन थालेको छ ।

राष्ट्रसंघीय मिसनलाई पनि जातीय र आतङ्ककारी हमलाकारीबाट स्थानीयवासीलाई जोगाउन हम्मेहम्मे परेको छ ।

अन्नाडिफले शान्ति मिसनको कार्यादेशलाई विस्तार गर्न सुरक्षा परिषद समक्ष आग्रह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै