• २०८१ बैशाख ८ शनिबार

अफ्रिकी मुलुकको अर्थतन्त्र ओरालो लाग्नुमा भ्रष्टाचार जिम्मेवार : इजिप्टका राष्ट्रपति

kharibot

कायरो (इजिप्ट) । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अफ्रिकी मुलुकका सरकारहरुलाई भ्रष्टाचार विरुद्ध सामूहिक रुपमा अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । उनले अफ्रिकी मुलुकहरुको अर्थतन्त्र ओरालो लाग्नुमा मुख्यतः भ्रष्टाचार नै जिम्मेवार रहेको पनि बताए ।

इजिप्टको पर्यटकीय शहर शार्म अल–शेखमा आयोजित दुई दिने अफ्रिकी भ्रष्टाचार विरोधी मञ्च (एएसीएफ) को बैठकमा सम्बोधन गर्दै राष्ट्रपति सिसीले उक्त धारणा राखेका हुन् ।

उनले भ्रष्टाचार विरुद्ध लड्न राजनीतिक, व्यवस्थापिका, कानुनी र नियामक क्षेत्रमा आमूल सुधारको आवश्यक औंल्याए । राष्ट्रपति सिसीले इजिप्टमा भ्रष्टाचार विरुद्ध लड्न हालैका वर्षमा धेरै उपाय अपनाइएको बताए ।

राष्ट्रपति सिसीले भ्रष्टाचार हुनुको कारण पत्ता लगाउन इजिप्टमा अनुसन्धान, अध्ययन र मतसर्वेक्षण पनि गरिएको जानकारी दिए ।

अफ्रिकी युनियनको अध्यक्षता हाल इजिप्टले गरिरहेको छ ।

उनले भ्रष्टाचार विरुद्ध लड्न अफ्रिकाका मुख्य साझेदारहरुबीच गहिरो अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेकामा जोड दिए । “हाम्रो दृढ विश्वास के छ भने भ्रष्टाचार विरुद्ध लड्न र हाम्रो महादेशको अवस्थामा परिवर्तन ल्याउन साझा प्रयत्न, सामूहिक दृष्टिकोण र अफ्रिकी संयन्त्रको समन्वयात्मक प्रयत्नको बढावा नै मुख्य पक्ष हो ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै