• २०८१ बैशाख ६ बिहीबार

काँग्रेस जागरण अभियान : एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम

kharibot

फाइल तस्वीर

काठमाडौँ । नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ ।

एक महीनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा वडास्तरमा बैठक, भेला, आन्तरिक सभा, खुला सभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

जागरणको प्रथम चरण गत वैशाख २५ गते प्रारम्भ भएर यही जेठ २५ गते सम्पन्न भएको थियो । प्रथम चरण र आगामी कार्यक्रमबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कार्यक्रमहरुमा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी लगायतको सहभागिता रहेको बताए ।

अभियानलाई व्यवस्थित बनाउन पार्टीले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो । प्रथम चरणको जागरण अभियानलाई पछिल्लो समय कुनै पनि राजनीतिक दलद्वारा जनस्तरमा प्याकेजमा अघि सारिएको बृहत् र नवीन एक मात्र कार्यक्रमका रुपमा काँग्रेसले व्याख्या गरेको छ ।

अभियानका क्रममा स्थानीय तहसम्म बृहत्स्तरमा संवाद, विषय सम्प्रेषण र सुझाव सङ्कलन हुनाका साथै गणतन्त्र, सङ्घीयता, सुशासन र समृद्धि जस्ता आम सरोकारका विषयहरुमा बौद्धिक छलफल भएको थियो । 

विभिन्न पार्टीका ३१ हजार ६४२ काँग्रेसमा प्रवेश 

प्रवक्ता शर्माले भने, “काँग्रेसले आफूलाई नवीन ढङ्गले अघि बढाएर संविधान, सङ्घीयता र लोकतन्त्रको रक्षा एवं संवद्र्धनको भूमिका निर्वाह गर्नुपर्ने आम अपेक्षा देखिएको छ ।”

सोही आशा र विश्वासको भावनाका साथ काँग्रेसमा समाहित हुन चाहने आकाङ्क्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको सो पार्टीले जनाएको छ । अभियान क्रममा सत्तारूढ पार्टी एवं अन्य विभिन्न पार्टीबाट देशभरिका कार्यक्रममार्फत ३१ हजार ६४२ काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा साधारण सदस्यतादेखि जिल्ला र गाउँनगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका अन्य पार्टीका नेता कार्यकर्तासमेत रहेको उनले जानकारी दिए । उनीहरुलाई पार्टीले आवश्यक प्रशिक्षणपश्चात् उपयुक्त जिम्मेवारी प्रदान गर्नेछ ।

अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् । काँग्रेसलाई सुदृढ र नवीन बढाउँदै अघि बढ्न जागरण अभियान क्रममा औँल्याइएका कमजोरी आत्मसात् गर्दै, तिनलाई क्रमशः निराकरण गर्दै काँग्रेस अघि बढ्ने जनाइएको छ ।

अभियानसँगै जिल्ला सम्पर्क समितिहरुको संयोजनमा काठमाडौँमा मासिक रुपमा नियमित रक्तदान कार्यक्रम प्रारम्भ भएको छ । यही जेठ २३ मा भएको प्रथम रक्तदानमा ७३ व्यक्तिले रक्तदान गरेर ‘काठमाडौँका अस्पतालहरुमा रगतको अभाव हुन नदिने’ घोषणा गरिएको छ । असारको अन्तिम शनिबार दोस्रो रक्तदान आयोजित हुनेछ ।

असार तेस्रो साता केन्द्रीय समितिको बैठक

जागरण अभियानको दोस्रो चरण आगामी भदौ २४ गते (विपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ । प्रथम चरणका खटिनुभएका केन्द्रीय प्रतिनिधिले आगामी असार १४ गतेभित्र आफ्नो लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने निर्देशन गरिएको छ ।

पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिबीच विशेष विर्मश गरी जागरण अभियानको प्रथम चरणको समीक्षा, अन्य आवश्यक सन्दर्भ र समसामयिक मुद्दामा केन्द्रित रहेर काँग्रेस केन्द्रीय समितिको बैठक असार तेस्रो सातामा बस्नेछ ।

जागरण अभियानको दोस्रो चरण प्रवेशपूर्व नै नेपालको संविधान र काँग्रेसको संशोधित विधानबमोजिमको सम्पूर्ण संरचनाहरु निर्माण गरिने प्रवक्ता शर्माले जानकारी दिए ।

नेपाल विद्यार्थी सङ्घलगायतका भ्रातृ संस्थाहरुबारे पनि आवश्यक निर्णय यथाशीघ्र लिइने उनले बताए । अभियानको दोस्रो चरण पूर्व काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा विभिन्न तहमा प्रशिक्षणका कार्यक्रम गरिनेछन् ।

काँग्रेसको उम्मेदवार भएर विजयी देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि ‘सेवा, सङ्गठन र समृद्धि’ केन्द्रित प्रशिक्षण आगामी साउनको प्रथम साता काठमाडौँमा आयोजना गरिने पार्टी कार्यालयले जनाएको छ ।

गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग

सात प्रदेशका जिल्लालाई १४ फरक समूह बनाई १४ स्थानमा प्रशिक्षण आयोजना गर्ने प्रतिष्ठानको पूर्व निर्णयबमोजिम साउन प्रथम साता नै प्रदेश १ को धनकुटा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण आयोजना गरिने प्रवक्ता शर्माले जानकारी दिए ।

त्यस्तै नेपाली जनसम्पर्क समितिका लागि यही जुन महीनाको २१–२३ तारिखमा डेनमार्कमा आयोजना गरिने प्रशिक्षणमा ३३ देशका नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहने काँग्रेसले जनाएको छ ।

आन्तरिक सङ्गठनात्मक विषयवस्तुहरुमाथि प्रशिक्षणका अलावा विश्वस्तरीय सो कार्यक्रममा नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिका, विश्वमा बढ्दो तापक्रम र नेपाल प्रभाव, विश्वको बदलिँदो राजनीति, दक्षिण एशिया र नेपाल, समाजवादको युरोप अनुभवको आलोकमा नेपाल जस्ता महत्वपूर्ण विषयहरुमा विषगत अन्तरक्रिया हुनेछ ।

प्रवक्ता शर्माले गुठीसम्बन्धी विधेयक सरोकारवाला पक्षसँग छलफल नगरी ल्याएको बताउँदै सो विधेयकले परम्परा, धर्म, संस्कृतिमाथि अतिक्रमण गर्नै भन्दै फिर्ता लिन सरकारसँग माग गरे । साथै उनले लोकसेवा आयोगको सार्वजनिक गरेको स्थानीय कर्मचारी आवेदनसम्बन्धी विज्ञापनमा संविधानले अङ्गीकार गरेको समावेशिता सिद्धान्त समावेश गर्नुपर्ने र करारमा कर्मचारी भर्ना गर्न नहुने धारणा व्यक्त गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै