• २०८१ बैशाख ८ शनिबार

भारत-न्युजील्याण्ड खेल बर्षाले प्रभावित, टस हुन सकेन

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आज भारत र न्युजील्याण्डबीच भिडन्त हुदै छ ।

नेपाली समय अनुसार अपराहन्न सवा ३ बजेदेखि सुरु हुने खेल वर्षाले प्रभावित गरेको छ । सवा ३ बजे सुरु हुनुपर्ने खेल बर्षाका कारण अहिलेसम्म टस हुन सकेको छैन ।

अहिले हल्का वर्षा भइरहेको बताइएको छ भने केहि बेरमा एम्पायरले मैदानको अवलोकन गर्ने आइसीसीले बताएको छ । मिडिया रिपोर्टका अनुसार ५० ओभरको खेल हुन मुश्किल देखिएको छ भने केहि ओभर घटाएर खेल हुनसक्ने बताइएको छ ।         
जारी विश्वकपमा तीन खेलमा अपराजित रहेको न्युजील्याण्ड र दुई खेलमा अपराजित रहेको भारतबीचको यो खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

न्युजील्याण्डले यस अघि श्रीलंका, बंगलादेश र अफगानिस्तानलाई पराजित गरेको छ भने यस विश्वकपमा पहिलो पटक बलियो टिम भारतको सामना गर्दै छ । त्यस्तै भारतले भने दक्षिण अफ्रीका र अस्ट्रेलिया जस्ता बलिया टिमलाई पराजित गरेर उच्च आत्मबलका साथ यो खेल खेल्दै छ ।

भारतका ओपनर शिखर धवन यस खेलमा नखेल्ने भएपछि भारत अलिकति दबाबमा आएको देखिन्छ । पछिल्लो खेलमा अस्ट्रेलियाविरुद्ध शतकीय पारी खेलेका धवनको ठाउमा केएल राहुलले ओपन गर्ने निश्चित नै रहेको छ । त्यस्तै धवनको ठाउमा प्लेइङ इलेभेनमा विजय शंकर र दिनेश कार्तिक मध्ये एकले ठाउ पाउने देखिएको छ ।

त्यस्तै न्युजील्याण्डले पनि ओपनरमा हेनरी निकोल्सलाई खेलाउने सम्भावना देखिएको छ भने टिम साउथीपनि यस खेल खेल्न फिट भएकाले उनले पनि खेल्ने सम्भावना देखिन्छ ।

त्यस्तै भारतका लागि बलियो पक्ष हार्दिक पाण्डेयको जबर्जस्त प्रदर्शन रहेको छ । अस्ट्रेलियाविरुद्ध चौथो नम्बरमा आएर २७ बलमा ४८ रनको आक्रामक पारी खेल्दै उनले यस विश्वकपमा राम्रो प्रभाव छोड्ने संकेत गरेका छन् । भारतको लागि यो राम्रो पक्ष देखिन्छ । 
त्यस्तै न्युजील्याण्डका लागि मिस्टर कुल कप्तान केन विलियम्सनको प्रदर्शन नै महत्वपूर्ण हुने छ । सबै किसिमका बलरविरुद्ध राम्रो खेल्ने केनलाई युजवेंद्र चहलले यस अघि दुई पटक आउट गरिसकेका हुनाले कप्तान विराट कोहलीले केनको विरुद्ध चहललाई लगाउन सक्ने देखिन्छ ।

त्यस्तै यस खेलमा तिब्र गतिका बलर ट्रेन्ट बोल्ट र जसप्रित बुमराहको खेल समेत निर्णायक हुने देखिन्छ ।

विश्वकपमा दुवै टिमम सन् २००३ को विश्वकप पछि आमना सामना हुदै छन् । अहिलेसम्म विश्वकपमा दुवै टिम ७ पटक खेलेका छन् भने न्युजील्याण्डले ४ पटक र भारतले ३ पटक जित हासिल गरेको छ ।

सम्भावित प्लेइङ एघार :

भारत : विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, महेन्द्र सिंह धोनी (विकेटकीपर), हार्दिक पाण्डेय, विजय शंकर, युजवेंद्र चहल, जसप्रीत बुमराह, मोहम्मद सामी, भुवनेश्वर कुमार, रवींद्र जडेजा ।
न्यूजील्याण्ड : केन विलियमसन (कप्तान), मार्टिन गुप्टिल, टम लथम (विकेटकीपर), जिमी नीशाम, हेनरी निकोल्स, मिशेल सेंटनर, ट्रेन्ट बोल्ट, कॉलिन डि ग्रैंडहोम, लकी फर्ग्यूसन, टिम साउथी, रोज टेलर ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै