• २०८१ बैशाख ७ शुक्रबार

विश्वकपमा आज दुई खेल हुदै : जित्नै पर्ने अवस्थामा चारै टिम

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुदै छन् । आज अस्ट्रेलियाले श्रीलंकाको सामना गर्दै छ भने अफगानिस्तानले दक्षिण अफ्रीकाको सामना गर्दै छ ।

अस्ट्रेलिया र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार सवा ३ बजे सुरु हुने छ भने अफगानिस्तान र दक्षिण अफ्रीकाबीचको खेल सवा ६ बजे सुरु हुने छ ।

अस्ट्रेलिया र श्रीलंका :

अस्ट्रेलियाले प्रतियोगितामा अहिलेसम्म खेलेका ४ खेलमा ३ खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको छ । अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्यो । त्यस्तै दोस्रो खेलमा वेस्टइन्डिजलाई १५ रनले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा भारतसँग ३६ रनले पराजित भएको अस्ट्रेलिया चौथो खेलमा भने पाकिस्तानलाई ४१ रनले पराजित गरेको थियो ।

त्यस्तै श्रीलंका भने आफ्नो पहिलो खेलमा न्युजील्याण्डसँग १० विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई डकवर्थ लुइस मेथड अनुसार ३४ रनले पराजित गरेको थियो । त्यसपछिक श्रीलंकाका दुवै खेल बर्षका कारण रद्ध हुन पुगे । पाकिस्तान र बंगलादेशविरुद्धका दुवै खेल रद्ध हुदा श्रीलंकाले अंक बाड्न परेको थियो ।

अस्ट्रेलिया अंक तालिकामा राम्रो पोजिसनमा भए पनि श्रीलंकाका लागि भने यो खेल जित्नै पर्ने भएको छ । श्रीलंकाले यो खेल हारेमा भने उसको विश्वकपमा सेमिफाइनलको यात्रा मुश्किल हुने देखिन्छ । त्यस्तै अस्ट्रेलिया भने यो खेल जितेर अंक तालिकामा शिर्ष स्थानमा पुग्न चाहन्छ ।

यस खेलमा श्रीलंकाका नुवान प्रदीप घाइते भए पनि उनी अभ्यासमा फर्किएका छन् तर उनको खेल्ने नखेल्ने बारे भने निश्चित भएको छैन । त्यस्तै लातिस मालिंगा आफ्नी सासुको निधनमा श्रीलंका आएकोमा उनी फेरी इङल्याण्ड फर्किसकेकाले उनले खेल्ने सम्भावना रहेको छ ।

अस्ट्रेलियाका मार्कोस स्टोइनिस घाइते भएपछि उनको ठाउमा केन रिचार्डसन खेल्ने छन् भने एरोन फिन्च र स्टिभ स्मिथले नेटमा बलिङ अभ्यास गरिरहेकाले उनीहरुले पनि यस खेलमा बलिङ गर्ने सम्भावना रहेको बुझ्न सकिन्छ ।

अफगानिस्तान र दक्षिण अफ्रीका :

आजै दोस्रो खेल अफगानिस्तान र दक्षिण अफ्रीकाबीच हुदै छ । जारी विश्वकपमा दुवै टिम आफ्नो पहिलो जितको खोजीमा रहेका छन् । दक्षिण अफ्रीका आफ्ना ४ खेलमा ३ खेलमा हार बेहोरेको छ भने एक खेल बर्षाका कारण रद्ध भएपछि एक अंक हासिल गरेको छ ।

दक्षिण अफ्रीकाले इङल्याण्डसंग ११४ रनले, बंगलादेशसँग २१ रनले, भारतसँग ६ विकेटले हार्न पुगेको थियो । त्यस्तै वेस्टइन्डिजविरुद्धको खेल भने बर्षाले रद्ध भएको थियो ।

त्यस्तै अफगानिस्तान भने अस्ट्रेलियासँग ७ विकेटले, श्रीलंकासँग ३४ रनले र न्युजील्याण्डसँग ७ विकेटले पराजित भएको थियो ।

पहिलो जितको खोजीमा रहेका दुवै टिमका लागि आफ्नो आत्मविश्वास फर्काएर विश्वकपमा अगाडी बढ्न यो खेल जित्न जरुरी देखिन्छ ।

यस खेलमा अफगानिस्तानले मुजीब उर् रहमानलाई खेलाउने सम्भावना देखिन्छ भने पछिल्लो खेलमा टाउकोमा बल लागेर बलिङ नगरेका राशिद खान पनि यो खेलमा खेल्ने छन् ।

त्यस्तै दक्षिण अफ्रिकाका तिब्रगतिका बलर लुंगी एनगिडीको इन्जुरी अझै ठिक भएको देखिएको छैन । कार्डिफमा हुने यस खेलमा सुरुमा बर्षाले प्रभाव पार्ने भए पनि अपराह्न भने बर्षा रोकिने अनुमान छ ।

यस अघि यसै मैदानमा भएका खेलमा श्रीलंका १३६ रनमा अल आउट भएको थियो भने इङल्याण्डले भने ३८६ रन बनाएको थियो । यो खेल डे-नाइट हुने हुनाले कति रन बन्छ भन्ने बारे अनुमान गर्न गाह्रो देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै