• २०८१ बैशाख ८ शनिबार

इरानबारे ट्रम्प र आबेका बीचमा छलफल

kharibot

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेका बीचमा इरानका बारेमा कुराकानी भएको छ । 

शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा दुई पक्षीय व्यापार तथा आपसी हितका बारेमा पनि कुराकानी भएको अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री आबे हालै इरान भ्रमण गरेर फर्किएकाले राष्ट्रपति ट्रम्पले आबेसँग कुराकानी गर्नु भएको थियो । उहाँहरुले ओसाकामा हुन लागेको जी २० को शिखर सम्मेलनका बारेमा पनि कुराकानी गर्नु भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ । जी २० को शिखर सम्मेलन यही जुनको अन्त्य तिर हुने तय भएको छ ।  

ह्वाईट हाउसद्धारा जारी वक्तव्यमा राष्ट्रपति ट्रम्पले इरानसँगको संवादका लागि पहल गरेकोमा आबेलाई धन्यवाद दिएका छन् ।

जापानी प्रधानमन्त्री आबेले यही हप्ताको सुरुमा इरानको भ्रमण गरेका थिए । यसअघि सन् १९७८ मा तत्कालिन जापानी प्रधानमन्त्री ताकेओ फुकुदा इरान गएका थिए । 

यो पछिल्लो दुर्लभ भ्रमण वासिङ्टन र तेहरानबीचको नराम्रो सम्वन्ध सुधार्ने उद्धेश्यले भएको थियो । आबेले भ्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीसँग पनि भेटवार्ता गरेका थिए ।

बिहीबार भएको उहाँहरुको भेटका क्रममा खामेनीले ट्रम्पको सन्देशको कुनै अर्थ नभएको बताउनु भएको इरानको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

भेटका बारेमा ट्रम्पले बिहीबार नै ट्वीट गर्दै लेखेका थिए, “जापानी प्रधानमन्त्री आबेले इरानमा आयतोल्लाह अली खामेनीलाई भेटेको स्वागतयोग्य कुरा छ, चाडै नै यसले एउटा सम्झौताको रुप लिने छ भन्ने मैले व्यक्तिगत रुपमा विश्वास लिएको छु ।” 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै