• २०८१ बैशाख ८ शनिबार

देशका सातै प्रदेशमा बजेट ल्याइदै, कुन प्रदेशको बजेटको आकार कति ?

kharibot

काठमाडौँ  । आज देशका सातै प्रदेशमा बजेट ल्याइदै छ । सबै प्रदेशले आफ्नो प्रदेशको प्राथमिकता छुट्टयाएर बजेट ल्याउन लागेको देखिन्छ ।

प्रदेश एकले पुराना कार्यक्रमलाई निरन्तरता दिदै कृषि र पर्यटनलाई प्राथमिकता दिएर बजेट ल्याउन लागेको बताएको छ ।

त्यस्तै प्रदेश २ ले कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारलाई जोड दिएर बजेट ल्याउने तयारी गरेको छ भने बजेटमा मानव विकास, स्वास्थ्य, शिक्षालगायतमा पनि जोड दिइएको बताइएको छ ।

त्यस्तै प्रदेश ३ ले सरकारी कारोबार बैंकिङ प्रणालीमार्फत गर्ने नीतिलाई प्राथमिकता दिएर बजेट ल्याउन लागेको छ भने बजेटले प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहका नागरिकलाई बजेटले छुने गरी बजेट ल्याउने तयारी गरेको छ ।

त्यस्तै गण्डकी प्रदेशले प्रदेश भित्रबाट आन्तरिक ऋण लिएर प्रदेश गौरवका योजना सञ्चालन गर्ने बजेटमा ल्याउने तयारी गरेको बुझिएको छ । त्यस्तै आगामी चार बर्ष भित्र प्रदेशमा गरिबी १४.२ प्रतिशतबाट ७ प्रतिशतमा झार्ने र प्रदेशको वार्षिक औसत आर्थिक वृद्धिदर १०.२ प्रतिशतले वृद्धि गर्ने लक्ष्यसहितको बजेट ल्याउने तयारी गरिएको छ ।

त्यस्तै प्रदेश ५ ले प्रदेशका १० वटा गौरवका आयोजना अगाडि बढाउने र प्रदेशको वृद्धि दर ९.५ पुर्याउने लक्ष्यसहितको बजेट ल्याउने तयारी गरेको छ । त्यस्तै बजेटमा प्रदेशका ३० वटा पालिकाका केन्द्रसँग जोड्ने सडकलाई प्राथमिकतामा राखिएको बताइएको छ ।
त्यसैगरी कर्णाली प्रदेशले भने प्रदेश गौरवका योजनाहरू मात्र बजेटमा समावेश गरेर बजेट ल्याउने बताएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशले कृषिमा आत्मनिर्भर बनाउने कृषि र पूर्वाधार विकासलाई उच्च प्राथमिकताका साथ नयाँ बजेट ल्याउने तयारी गरेको छ ।

कुन प्रदेशको कति बजेट ?                   

प्रदेश १ सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो  भने अहिले यसमा २० प्रतिशत बढेर आउने बताइएको छ  । बजेट आइतबार दिउँसो ३ बजे प्रदेश सरकारको तर्फबाट अर्थ मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभा बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै प्रदेश २ ले अगामी आर्थिक वर्ष ०७६/७७ का लागि करिब ३५ अर्बको बजेट ल्याउने तयारी गरेको बुझिएको छ  । प्रदेश २ मा चालू आर्थिक वर्षको बजेट २९ अर्ब ७८ करोड रहेको छ । 

त्यसैगरी प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि करिब ४८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्ष ०७५/७६ मा ३५ अर्ब ६१ करोड बजेट ल्याएको प्रदेश ३ सरकारले यसपटक बजेटको आकार करिब ३० प्रतिशत बढ्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । 

त्यस्तै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि करिब ३२ अर्बको बजेट ल्याउने भएको छ । यो चालू आर्थिक वर्षको भन्दा  करिब ६ अर्ब बढी हो । गण्डकीको चालू वर्षको बजेट २४ अर्ब २ करोड ३३ लाख रहेको थियो  । 

त्यस्तै प्रदेश ५ सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि करिब ३५ अर्ब को बजेट ल्याउने तयारी गरेको छ । प्रदेश ५ सरकारले गत वर्ष २८ अर्ब ९ करोडको बजेट प्रस्तुत गरेको थियो ।

त्यस्तै कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि  करिब ३३ अर्बको बजेट ल्याउने भएको छ । कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आइतबार दिउँसो ३ बजे कर्णाली प्रदेश सभामा बजेट प्रस्तुत गर्नेछन् । 

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि करिब २९ अर्बको बजेट ल्याउँदै छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आइतबार अपराह्न साढे ४ बजे प्रदेश संसद्मा बजेट प्रस्तुत गर्नेछन्  । सुदूरपश्चिम सरकारले चालू आर्थिक वर्षका लागि २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट ल्याएको थियो  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै