• २०८१ बैशाख १३ बिहीबार

कार्यालय सहयोगीको भरमा पाल्पाका स्वास्थ्य संस्था

kharibot

पाल्पा । यहाँको एक स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ ।

पाल्पा रामपुर नगरपालिका –१ स्थित गाडाकोट आयुर्वेदिक औषधालय कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो । विगत सात महिनादेखि कार्यालय सहयोगी ईश्वरी अर्यालको भरमा सो औषधालय सञ्चालन हुँदै आएको छ ।

कार्यालय सहयोगी अर्याललाई आफ्नो कार्यभारभन्दा पनि बिरामीको स्वास्थ्य अवस्था जाँच गर्ने, औषधि वितरण, प्रेसर जाँच कार्यमा भ्याइनभ्याइ हुन्छ ।

कार्यालय प्रमुखदेखि सहयोगीका सबै काम उहाँ एक्लैले चलाउँदै आउनुभएको छ । सामान्य नेपाली अक्षर लेखपढ गर्न मात्र सक्ने अर्यालले सात महीनादेखि निरन्तररुपमा कविराज, वैद्यको जिम्मेवारी बहन गर्दै आएको बताए ।

 “कविराज वैद्य कोही पनि नभएपछि कार्यालय प्रमुखदेखि लिएर सहयोगीसम्मका सबै कार्यभार मेरै जिम्मामा छ, कार्यालयमा मङ्सिरदेखि कोही पनि हुुनुहुन्न”, उनले भने । उनी बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कार्यालयमा बसेर बिरामीको स्वास्थ्य जाँच गर्ने र औषधि वितरण गर्ने गर्छन् ।

 “बिरामीले मेरो काम होइनभन्दा पनि बुझ्दैनन्, बाध्यताले स्वास्थ्य जाँजबुझ गर्ने, औषधि दिने गरेको छु, कार्यालय पनि जङ्गलको एकान्त र बीच भागमा हुँदा एक्लै बसेर काम गर्न पनि डर छ”, उनले गुनासो गरे ।

औषधालयका कविराज राजिवकुमार भारती सर्लाही, वैद्य सुनिलकुमार चौधरी चितवनमा २०७५ मङ्सिर १ गतेदेखि सरुवा भएर गएपछि यस क्षेत्रका नागरिकले कार्यालय सहयोगीबाटै सेवा लिन बाध्य छन् । दैनिकजसो १० देखि १५ जनासम्म बिरामी आउने गरेको उनको भनाइ छ । रामपुर नगरपालिका वडा नं १, २, निस्दी गाउँपालिका वडा नं १ बाकामलाङ, नवलपुरको रकुवा लगायतका नागरिकले यस औषधालयबाट सेवा लिइरहेका छन् ।

विसं २०५८ मा स्थापना भएको यो औषधालय नेपाल सरकारको रु ४१ लाखको लागतमा २०६६ मा सुविधा सम्पन्न आवाससहित सात कोठाको भवन निर्माण भई सञ्चालनमा आएको हो । पेट तथा प्रेसरसम्बन्धी औषधालयमा कार्यालय सहयोगीसँग स्वास्थ्य जाँच गराउनुभएका रामपुर नगरपालिका–१ का ५६ वर्षीय खिमबहादुर खाँणले कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या परेको बताए ।

 “डाक्टर नभएपछि कार्यालय सहयोगीसँगै जाँच गर्ने, औषधि लिने गरेर फर्कने काम भएको छ, अन्यत्र जान टाढा पर्छ, दरबन्दी छ तर डाक्टर छैनन्, यसको मार हामी गाउँका जनताले खेप्नु परेको छ”, उनले भने ।

औषधालयका अध्यक्ष एवं वडा नं १ का अध्यक्ष मित्रलाल कँडेलले कर्मचारी नहँुदा सेवा प्रवाहमा समस्या परिरहेकाले कर्मचारी पदपूर्तिका लागि नगरपालिकाको कार्यालय तथा सम्बन्धित निकायमा माग गरिएको बताए ।

रामपुर नगरपालिकाका वरिष्ठ कविराज निरीक्षक चेमनप्रकाश पोखरेलले कर्मचारी सामायोजनले रिक्त रहेको दरबन्दी पदपूर्ति गर्न नसकिएको बताए । “कर्मचारी बाहिरी जिल्लाका हँुदा सकेसम्म घर पायक अन्यत्र सरुवा भएर जाने प्रवृत्तिले गर्दा कर्मचारी टिकाउन समस्या परिरहेको छ”, उनले भने ।

नगरप्रमुख रमणबहादुर थापाले विज्ञापन आह्वान भइसकेकाले अबको तीन दिनभित्रमा कर्मचारी व्यवस्थापन गर्ने तयारीमा रहेको जानकारी दिए । “नागरिकले गाउँकै औषधालयबाट सेवा नपाउनु दुःखद् पक्ष हो”, उनले भने ।

गाउँमा बसेर सेवा दिनुभन्दा पनि जागिर खाने मात्र सोचाइ रहेकाले यस्ता समस्या धेरै गाउँ ठाउँमा छन् । हुन त कर्मचारीलाई टिकाउने वातावरण पनि सम्बन्धित निकायले सिर्जना गर्न सकियो भने नागरिकले सहजरुपमा गाउँबाटै सेवा पाउन सक्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै