तनहुँ जलविद्युतको बोलपत्र पेश गर्न एक महीना म्याद थप

खरीबोट

दमौली । तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजको बोलपत्र पेश गर्न एक महीनाको समय थप गरिएको छ । 

इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एण्ड सिमिष्ट्रि (सीएमएसी) सँग ठेक्का रद्द भएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले गत वैशाख १२ गते अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) आह्वान गरेकोमा पुनः एक महीनाको म्याद थप गरिएको हो ।

यसअघि जेठ २६ गतेसम्म बोलपत्र पेश गर्ने गरी बोलपत्र आह्वान भएकोमा एक महीना म्याद थप गरी असार २२ (जुलाई ७) सम्म पु¥याइएको आयोजनाका सञ्चारविज्ञ सचेन गौतमले जानकारी दिए । उनले भने, “यसअघि छ हप्ताको म्याद दिई बोलपत्र आह्वान गरिएकोमा पुनः चार हप्ता म्याद थप गरिएको छ ।”

गौतमका अनुसार यसअवधिमा अठार वटा कम्पनीले बोलपत्र खरीद गरेका छन् । बोलपत्रदाताले बोलपत्र कागजात बनाउन समय लाग्ने भएकाले म्याद थप गर्न अनुरोध गरेपछि बोलपत्र पेश गर्ने समय थप गरिएको गौतमले जानकारी दिए । उनले भने, “१४० मेगावाट क्षमताकोे योजना भएकाले अध्ययन र बोलपत्र कागजात बनाउन सबैले समय अपुग भएको भन्दै समय माग गरेपछि समय थपिएको हो ।”

आयोजनाको प्याकेज २ अन्तर्गतको काम भने तीव्र गतिमा चलिरहेको छ । आयोजनाका साइट इन्चार्ज इञ्जिनीयर विदुर अधिकारीका अनुसार दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा कार्यालय भवन, श्रमिक आवास क्षेत्र र पहुँचमार्ग निर्माण गरिरहेको छ । 

सिनो हाइड्रोले सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको लागि ठेक्का पाएको छ । दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग रु ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र रु तीन अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि कर बाहेक)मा सम्झौता भएको थियो ।

तेस्रो प्याकेजअन्तर्गत विद्युत्गृह तनहुँदेखि चितवनको भरतपुरसम्म विद्युत् प्रसारणका लागि आवश्यक २२० केभी क्षमताको प्रसारणलाइन संरचनाको जिम्मा भारतको केइसी इन्टरनेशनल लिमिटेडले पाएको छ । आयोजनाबाट प्रभावित ५४७ घरधुरीमध्ये ५१९ घरधुरीलाई मुआब्जा वितरण गरिसकेको छ । आयोजनाका अनुसार ती घरधुरीलाई रु एक अर्ब १८ करोड मुआब्जा वितरण गरिएको र बाँकी घरधुरीलाई मुआब्जा वितरणको प्रक्रिया भइरहेको छ । 

आयोजनाले ब्यास नगरपालिका–५ चापाघाटदेखि रिसिङ गाउँपालिका–१ झापुटारस्थित क्याम्प र ड्याम जाने बाटो कालोपत्रे गरिसकेको छ । त्यस्तै झापुटारमा नै कार्यालय तथा कर्मचारी आवास गृह निर्माण भइसकेको छ । दुबै प्याकेजको सम्पूर्ण निर्माणकार्य सन् २०२३ डिसेम्बरभित्रसक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिए पनि पुनः बोलपत्र आह्वान हुँदा कार्यतालिका प्रभावित हुने बताइएको छ । 

आयोजनाको कूल लागत ५८ अर्ब ८ करोड रुपैयाँ छ । यो लागत प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत हो । यो आयोजनामा एडिबीले रु १५ अर्ब, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले रु १८ अर्ब ४० करोड, ईआइबीले रु आठ अर्ब ५० करोड तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको रु ८ अर्ब ७० करोड लगानी गरेका छन् ।

सम्बन्धित समाचार

चार हजार मेगावाट क्षमताको आयोजनाको अध्ययन सकिँदै

काठमाडौँ । सरकारले करीब चार हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन कार्य अन्तिम चरणमा पुग्न लागेको जनाएको छ । तीमध्ये केही आयोजनाको अध्ययनको काम सकिन लागेको र केहीको भने वातावरणीय अध्ययन

तल्लो मोदी जलविद्युत् आयोजनाका कर्मचारी आन्दोलित

पर्वत । पर्वतमा निर्माणाधिन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कर्मचारी र आयोजनाबीच फेरी विवाद शुरु भएको छ ।  सहमति विपरीत आयोजना प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले नयाँ विज्ञापन खुलाएपछि कर्मचारी

नलगाड जलविद्युतको मुआब्जा वितरण यसै वर्ष सकिने

जाजरकोट । लामो समयदेखि अर्थाभावका कारण किस्ता–किस्तामा वितरण हुँदै आएको नलगाड जलविद्युत् निर्माणस्थलको मुआब्जा स्थानीयवासीले यसै आर्थिक वर्षमा सबै रकम पाउने भएका छन् । सरकारले सबै मुआब्जा दिने गरी रु दुई

विद्युत् कम्पनीको लापरवाहीले खोला पुरियो

दैलेख / दैलेखको नौमूलेमा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाको पाइप पुर्ने क्रममा एक किलोमिटर खोला बगर बनेको छ । नौमूलेदेखि भुरुङ्गेसम्मको सडकको भित्ता साइडबाट अहिले पाइप विछ्याउने काम धमाधम


z