• २०८१ बैशाख ७ शुक्रबार

प्रदेशको अर्थतन्त्र राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु मुख्य उद्देश्य : मुख्यमन्त्री पोखरेल

kharibot

काठमाडौँ । प्रदेश नं ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको अर्थतन्त्रको आकारलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु मुख्य उद्देश्य रहेको बताए ।

उनले प्रदेशको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर नेपालमै प्रथम स्थानमा रहे पनि प्रदेशका लागि अर्थतन्त्रको आकार जनसङ्ख्याको आकारका हिसाबले भने कमजोर रहेकाले प्रदेशका लागि यो चुनौतीका रूपमा रहेको स्पष्ट पारे ।

प्रदेश सरकारकोतर्फबाट आइतबार प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिकपछि बुटवलमा आज मन्त्रालयका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले अर्थतन्त्रको आकारलाई राष्ट्रिय अर्थतन्त्रसँग मिलाएर प्रदेशलाई अर्थतन्त्रको केन्द्रका रूपमा स्थापित गर्ने हिसाबले बजेटको कार्यान्वयनमा जोड दिइने बताए । उनले कुल गार्हस्थ्य उत्पादन आगामी आर्थिक वर्षमा आठ प्रतिशतमाथि पु¥याउने गरी बजेट प्रक्षेपण गरिएको जानकारी दिए ।

 उनले बजेट घाटामा नभएर स्रोत वृद्धि गर्ने सन्दर्भमा प्रदेश सरकार सफल भएको र सोहीअनुसार स्रोतमा आधारित भएर यथार्थ बजेट ल्याइएको बताए । प्रदेश सरकारको बजेट आवधिक योजनामा आधारित भएर क्रमागत योजनालाई समेत योजनामा समावेश गरेर बजेट बनाइएको उनको भनाइ थियो । उनले प्रदेशको समृद्धिको प्रमुख आधार कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण गर्न समुदायमा कृषि अनुदान पु¥याउन नयाँ ढाँचासहितका कार्यक्रम ल्याइएको बताए ।

सरकारले युवाको पौरख, प्रदेशको गौरवका रूपमा युवालाई कृषि क्षेत्रमा आकर्षित गरी सीप र दक्षतासँग आबद्ध गराउन कृषि विषयमा उच्च शिक्षा हासिल गरेका युवालाई स्रोत व्यक्ति तथा उद्यमशीलता विकास कार्यक्रम र पढ्दै कमाउँदै अभियानका लागि कृषकसँग विद्यार्थी कार्यक्रम लगायतका युवा लक्षित कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने नयाँ योजना बजेटमा व्यवस्था गरिएको उनले जानकरी दिए ।

आर्थिक वर्ष २०७६÷०७७ का लागि आइतबार प्रदेशसभामा रु ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरिएको थियो । विनियोजित बजेटमध्ये चालूतर्फ रु १३ अर्ब ४५ करोड पाँच लाख अर्थात् ३६.९४ प्रतिशत, पूँजीगततर्फ रु १८ अर्ब ५७ करोड ६४ लाख अर्थात् ५१.०१ प्रतिशत रहेको छ ।

प्रदेश सरकारले भविष्यमा प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र हुने कुरालाई आत्मसात् गर्दै पर्यटकीय गन्तव्य र पूर्वाधार विकासमा लक्षित गरी बजेट तयार गरिएको मुख्यमन्त्री पोखरेलले उल्लेख गरे ।

मुख्यमन्त्री पोखरेलले पूँजी बजारको विकास गर्न आधार तयार नभएको समेत बताए । “देशमा पूँजी बजारको विकास गर्ने तहमा अझै पुगेको छैन”, उनले भने । पूँजी बजार संस्थागत नभएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले बजार अहिले पनि जोखिमको अवस्थामा रहेको बताए । उनले पूँजी बजार व्यवस्थापकीय हिसाबले काठमाडौँमा मात्रै केन्द्रित हुने कुरा उपयुक्त नभएको बताउँदै सबै विषय केन्द्रिकृत हुने पुरानो मानसिकता भएको टिप्पणी गरे । मुख्यमन्त्री पोखरेलले भने, “पूँजी बजारका लागि प्रदेशमा प्रवेश गर्ने कुरा आफैँमा जटिल विषय हो ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै