• २०८१ बैशाख ७ शुक्रबार

अफगानिस्तानविरुद्ध इङल्याण्डको विशाल रन, मोर्गनले एक्लैले बनाए १४८

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत इङल्याण्डले अफगानिस्तानलाई ३९८ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिला बय्टिंग गरेको इङल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रन बनाएको हो । इङल्याण्डले बनाएको यो यस विश्वकपको अहिलेसम्मको सबै भन्दा धेरै रन हो ।

इङल्याण्डका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक १४८ रनको पारी खेलेका थिए । मोर्गनले सुरु देखि नै आक्रामक ब्याटिंग गर्दै केवल ७१ बलमा १४८ रन बनाएर आउट भएका हुन् । मोर्गनले आफ्नो पारीमा १७ छक्का र केवल ४ चौका प्रहार गरेका थिए । ३६ बलमा अर्धशतक पुरा गरेका मोर्गनले ५७ बलमा शतक पुरा गरेका थिए । उनले तेस्रो विकेटका लागि जोय रुटसँग मिलेर १८९ रनको साझेदारी गरेका थिए ।

साथै मोर्गनले एकदिवसीय क्रिकेटको एक पारीमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको रेकर्ड कायम गरेका छन् । उलने सर्वाधिक १७ छक्का प्रहार गर्दै विश्व रेकर्ड समेत बनाएका छन् । यसअघि क्रिस गेलको एक पारीमा सर्वाधिक १६ छक्काको रेकर्ड थियो । 

इङल्याण्डका लागि ओपनर जोनी बैरस्ट्रवले ९० रन बनाएर आउट भएका थिए । त्यस्तै जोय रुटले लगातार उत्कृष्ट ब्याटिंग गर्दै यस खेलमा ८८ रन बनाएर आउट भएका थिए ।

त्यस्तै जोस बटलर २ रन बनाएर आउट भए भने बेन स्टोकले २ र मोइन अलीले अविजित १९ बलमा ३१ रन बनाएका थिए ।

अफगानिस्तानका लागि गुलबदीन नैब र दावलत जर्दानले ३-३ विकेट लिए । तीन स्पिनर खेलाएको अफगानिस्तानका स्पिनरलाई इङल्याण्डका ब्याट्सम्यानले धुलाई गरेका थिए । राशिद खानले ९ ओभरमा ११० रन दिएर कुनै विकेट लिएनन् भने मोहमद नावीले ९ ओभरमा ७० रन दिदा कुनै विकेट लिन सकेनन् । त्यस्तै अर्का स्पिनर मुजीब उर रहमानले भने किफायती बलिङ गर्दै १० ओभरमा ४४ रन दिए पनि विकेट भने लिन सकेनन ।

प्रतियोगितामा अहिलेसम्म इङल्याण्ड ४ खेलमा ३ जित र एक हारसहित ६ अंक पाएर चौथो स्थानमा छ भने अफगानिस्तानले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ ।                                                      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै