• २०८१ बैशाख ८ शनिबार

पछिल्लो १० महिनामा रेमिट्यान्समा वृद्धि, हिमाल मूल्य बढ्यो

kharibot

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण (रेमिट्यान्स) आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा रेमिट्यान्स आप्रवाह १९.६ प्रतिशतले वृद्धि भएको उल्लेख छ । 

बैंकका अनुसार दश महीनाको अवधिमा रु सात खर्ब २५ अर्ब ३० करोड बराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स सात प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ९.३ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो वर्ष रेमिट्यान्स १०.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १९.४ प्रतिशतले वृद्धि भई रु आठ खर्ब २६ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.१ प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या छ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा ५.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २.२ प्रतिशतले घटेको थियो ।

हिमाल मूल्य बढ्यो

राष्ट्र बैंकका अनुसार मुलुकको अन्य भूभागको तुलनामा हिमाली क्षेत्रमा मूल्यवृद्धि भएको छ । क्षेत्रगत उपभोक्ता मुद्रास्फीति हिमालमा ६.१ प्रतिशत पुगेको हो । गत आवको सोही अवधिमा त्यस्तो मुद्रास्फीति ६.३ प्रतिशत थियो । गत वर्षको तुलानामा चालु आवको दश महीनामा ०.२ प्रतिशत मूल्यस्फीति घटेको हो । 

काठमाडौँ उपत्यकामा ६.०५, पहाडमा ५.० र तराईमा ४.९ प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६.३, ३.३, ५.७ र ४.० प्रतिशत रहेको थियो ।

नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत र भारतको ३.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.१ प्रतिशत र भारतको ४.९ प्रतिशत रहेको थियो । थोक मुद्रास्फीति ५.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २.० प्रतिशत रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै