• २०८१ बैशाख ८ शनिबार

बालबालिकाको लागि कति समय दिनुहुन्छ ?

kharibot

आमाबुबाको लागि आफ्नो सन्तानभन्दा महत्त्वपूर्ण संसारमा अरु केही पनि हुँदैन । सन्तानको खुसी र इच्छा आमाबुबाको सब थोक हो ।

आफ्नो सन्तानलाई सबै सुखसुविधा दिनु नै हरेक आमाबुबाको सपना हो । यसको लागि उनीहरू दिनरात मिहिनेत गर्न पनि तयार हुन्छन् । तर, यसरी बालबालिकाको लागि गरिएको परिश्रमले कतै उनीहरूलाई दिनुपर्ने समय त खोसिरहेको छैन ? 

बालबालिकासँग आमाबुबाले बिताएको समयले नै उसको संस्कार र आचरणको आधार तय गर्ने भएकाले उनीहरूको लागि समय निकाल्नु अत्यन्त आवश्यक छ ।

अन्यथा उनीहरूको संस्कार, आचरण राम्रो बनाउन सकिएन भने र स्वास्थ्यको ख्याल राख्न सकिएन भने जति श्रम गरे पनि त्यो बालुवामा पानी हालेजस्तै हुन्छ ।

त्यस्तै, यदि बालबालिकाको लागि समय निकाल्न सकिएन भने त्यसले उनीहरूमा एक्लोपनको महसूस दिलाउँछ र यो बालबालिका र आमाबुबाको सम्बन्धका लागि निकै घातक हुन सक्छ । त्यसैले बालबालिकाको लागि यथासम्भव धेरै समय निकाल्नु आवश्यक छ । व्यस्त जीवनमा पनि बालबालिकाको लागि यसरी समय निकाल्न सकिन्छ :

समयको विभाजन :

घण्टौं घण्टा बालबालिकासँग बिताउन नसके पनि उनीहरूको लागि केही समय छुट्याउनु आवश्यक छ । बिहान स्कुल जानुभन्दा अगाडि १५–२० मिनेट, बेलुका सुत्नुभन्दा अगाडि १५–२० मिनेट उनीहरूलाई दिऊँ । बालबालिकाको गल्ती देखाउने र पढाइबारे मात्र कुरा गर्ने धेरै अभिभावकको बानी हुन्छ । यस्तो बानी हटाएर उनीहरूलाई केही राम्रा कथा सुनाऔं, केही बेर उनीहरूसँगै खेलौं, खुलेर रमाइलो गरौं । यस्तो गर्नाले आपसी सम्बन्ध राम्रो हुन्छ । बालबालिकासँग जति समय बसिन्छ, त्यसको भरपूर सदुपयोग गरौं । उनीहरूलाई खुलेर बाँच्न प्रेरित गरौं । 

सँगै खाना खाऔं 

दिनभरमा एकपटक घरका सबै सँगै बसेर खाना खाने गरौं । यसो गर्नाले बालबालिकाको परिवारसँग सम्बन्ध राम्रो हुनुका साथै उसले जिम्मेवारी बोध गर्ने मौका पनि प्राप्त गर्छ । त्यस्तै, खाना खाँदा केही रमाइलो गर्दै मीठा कुरा गर्दै खानु राम्रो हुन्छ । बालबालिकालाई आफ्नो भावना व्यक्त गर्ने मौका दिनुपर्छ । यसबाट उनीहरूले परिवारमा आफू सुरक्षित र स्वतन्त्र भएको महसूस गर्छन् । 

सप्ताहान्तमा फ्री रहौं 

हप्ताभर बालबालिका र आमाबुबा सबै व्यस्त हुने र कम समय सँगै रहने भएकाले सप्ताहान्तमा सकेसम्म कुनै पनि योजना नबनाई पूरा समय परिवारको लागि दिनु राम्रो हुन्छ । सप्ताहान्तमा कतै घुम्न जाने, पिकनिक जाने, खेलहरू खेल्ने, मीठा पक्वान्नहरू तयार गर्ने जस्ता सृजनात्मक क्रियाकलापले बालबालिकामा सृजनशीलताको विकास हुनुका साथै हप्ताभरको तनाव पनि हटेर जान्छ । आमाबुबाको लागि सामान्य लागे पनि यसरी बिताइएको समय बालबालिकाको लागि निकै अर्थपूर्ण हुन्छ । 

ग्याजेट्सबाट टाढा रहौं 

आजभोलि आमाबुबा र बालबालिका सबै ग्याजेट्स चलाउन व्यस्त देखिन्छन् । यसले आमाबुबा र बालबालिकाबीच दुरी बढाइरहेको छ । त्यसैले यसबाट आफू पनि टाढा रही बालबालिकालाई पनि सकेसम्म टाढा राख्नु राम्रो हुन्छ । यसको सट्टामा बालबालिकालाई केही अन्य सृजनशील कार्यमा संलग्न गराई उक्त कार्यमा आफू पनि संलग्न हुनु अवश्यक छ । 

यसरी समयको व्यवस्थापन गरेको खण्डमा बालबालिका र आमाबुबाबीच सम्बन्ध प्रगाढ रहिरहन्छ । यसबाट बालबालिकाले राम्रो संस्कार, आचरण सिक्छन् भने उनीहरूमा उमेरअनुसार देखा पर्ने समस्या पहिचान गरी त्यसलाई समाधान गर्न पनि यसले ठूलो सहयोग गर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै