• २०८१ बैशाख १४ शुक्रबार

कर्णाली स्वास्थ्य विज्ञानमा विशेषज्ञ चिकित्सक उत्पादन गर्न बाटो खुला

kharibot

काठमाडौँ । जुम्लामा विशेषज्ञ चिकित्सक उत्पादन गर्न बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा विज्ञानअन्तर्गतको एमडिजीपी तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति-स्वीकृतिपत्र पाएपछि जुम्लामा पहिलोपटक विशेषज्ञ तहमा चिकित्सक उत्पादनको बाटो खुला भएको हो । 

यसले कर्णाली समग्र प्रदेशको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा नयाँ फड्को मार्ने विश्वास गरिएको छ । साथै प्रतिष्ठानमा आगामी दिनमा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) को शैक्षिक कार्यक्रम सञ्चालन गर्न ढोका खुलासमेत भएको छ ।

नेपाल मेडिकल काउन्सिलको विहिबार बसेको बैठकले प्रतिष्ठानलाई सो तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति-स्वीकृति दिने निर्णय गरेको हो । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले भने, “जुम्लामा विशेषज्ञ चिकित्सक उत्पादन गर्न बाटो खुला भएको छ । यसले कर्णालीको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा फड्को मार्नेछ ।”

हाल प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि, स्वास्थ्य र  बेहोस पार्ने (ऐनेस्थसिया) सहायक  अध्ययन अध्यापन गराइरहेको छ । नर्सिङको प्रमाणपत्रतर्फ स्थानीय १०० जनशक्ति उत्पादन भइसकेको छ । शैक्षिकसत्र विसं २०७५-०७६ देखि स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन शुरुआत भएको छ ।

विशेषतः जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्यस्थिति माथि उकास्न सरकारले ठूलो लगानीका साथ विसं २०६८ मा  जुम्लामा सो प्रतिष्ठान स्थापना गरेको थियो । प्रतिष्ठानले एक वर्ष अर्थात् विसं २०६९ कात्तिक २३ गते एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पुर्याई सेवा शुरुआत गरेको थियो ।

विसं २०७० मा सो अञ्चल अस्पताल प्रतिष्ठानमा गाभिन पुगेको थियो । गाभिँदा १०० श्ययाको अस्पताल हाल ३०० श्यया विस्तार हुन पुगेको छ । अस्पतालले पछिल्लो समय आफ्नै फार्मेसी, रक्तसञ्चार सेवा तथा अक्सिन प्लान्टसमेत सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले जानकारी दिए ।

दैनिक २०० सम्म अन्तरङ्ग र बहिरङ्ग सेवा लिने सो  अस्पतालमा तीन श्यया आइसियु रहेका छन् । “हामी यहाँ सेवा लिन आएका बिरामीलाई अन्यत्र रिफर नगर्ने अवस्थामा पुगेका छौँ । सिटीस्क्यान उपकरण सेवा शुरु हुँदैछ । नाक, कान र घाँटी विशेषज्ञ सेवा शुरु हुँदैछ”, उनले भने । 

एमडिजिपी तथा एमबिबिएस दुवै तहका अध्ययन अध्यापन शुरु गराउन प्रतिष्ठानले भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र अस्पतालमा उपकरण जडान कार्य पूरा गरेपछि  काउन्सिलका विज्ञ टोलीले पटकपटकको स्थलगत अध्ययन गरेको थियो । पछिल्लो समय काउन्सिलको अध्ययन टोलीमा जुम्ला जानुभएका एक विशेषज्ञ चिकित्सक भने, “एमबिबिएस र एमडिजिपी तहको अध्ययन अध्यापन गराउन आवश्यक पूर्वाधार तथा जनशक्ति सबै तयार भएको देखियो, सोचेकोभन्दा राम्रो पूर्वाधार बनेछ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षाा मन्त्रालयले सो कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठानलाई एक वर्षअघि नै स्वीकृति दिइसकेका थिए । विसं २०७४ असोज २६ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्रतिष्ठानको पाँचौ सिनेट बैठकले प्रतिष्ठानको शैक्षिक कार्यक्रम तथा भौतिक निर्माणसम्बन्धी गुरुयोजना पारित गरेको थियो । 

चिकित्सक शिक्षा अध्ययन अध्यापनका लागि शैक्षिक कार्यक्रम सञ्चलन गर्न काउन्सिलको स्वीकृति-अनुमति अनिवार्य आवश्यक पर्छ । प्राडा गोविन्द केसीले आफ्नो पटकपटकका अनशनमा उठान गर्नुभएको प्रमुख मागमा प्रतिष्ठानमा एमडिजिपी, एमबिबिएस र एमडी कक्षा सञ्चालनको पूर्वाधार तयार गर्दै अध्यापन शुरु गर्नुपर्नेसमेत रहेको थियो ।

पूर्वस्वास्थ्य सचिव प्रा डा रेग्मी विभागीय प्रमुख

प्रतिष्ठानमा कार्यरत विभागीय प्रमुख, विशेषज्ञ चिकित्सक तथा चिकित्सक नेपालको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा अनवरत सेवा गरेका चिकित्सक छन् । प्रतिष्ठानले विभागीय प्रमुख, विशेषज्ञ चिकित्सक तथा चिकित्सक पद आह्वान गर्दा १५० भन्दाबढी चिकित्सकले दर्खास्त दिएका थिए । 

प्रतिष्ठानको डीनमा प्रा डा रेशमबहादुर राना कार्यरत छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवामा २५ वर्षभन्दा बढी सेवा प्रदान गर्नुभएका प्रा डा रानाले पछिल्लो समय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)मा अध्यापन गराउँदै आएका थिए ।

स्त्रीरोग विभागको प्रमुखमा प्रा डा किरण रेग्मी कार्यरत छन् । उनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पूर्वसचिव हुन् । अधिकांश समय ग्रामीण स्वास्थ्य सेवामा नै व्यतित गरेका प्रा डा रेग्मीले भने, “जुम्लामा चिकित्सा उत्पादन गर्र्ने सपननालाई मूर्त रुप दिन म आएको हुँ ।”

प्रा डा सुनिल बुढाथोकी र प्रा डा कमल शर्मा प्रतिष्ठानको बालरोग विभागमा कार्यरत छन् । प्रा डा शर्मा स्वास्थ्य सेवातर्फ ११औँ तहको पदबाट राजिनामा दिइ जुम्ला गएका हुन् । एमडिजिपी कार्यक्रमको संयोजकमा डा तरुण पौडेल नियुक्ति भएका थिए । उनी स्वास्थ्य सेवातर्फ १२औँ तहबाट अवकाश प्राप्त चिकित्सक हुन् । सोही कार्यक्रममा डा भोलाराम श्रेष्ठ कार्यरत हुनुहन्छ । उहाँ पनि स्वास्थ्य सेवाको १२औ तहबाट अवकाश प्राप्त चिकित्सक हुन् । सोही कार्यक्रममा डा निरेश थापा कार्यरत छन् । उनीहरु तीनै जना एमडिजिपी तथा एमडी हुन् । नेपालमा एमडिजिपी शिक्षाका सर्वेत्कृष्ट चिकित्सक मानिन्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै