• २०८१ बैशाख १३ बिहीबार

के ब्रह्माण्ड अदृश्य शक्तिले चलाइरहेको छ ?

kharibot

करीब १० हजार ग्यालेक्सीको समग्र क्षेत्रको तस्वीरलाई हबल अल्ट्रा डीप फिल्ड भनिन्छ । 

तस्वीरमा रहेका ग्यालेक्सीहरु विभिन्न प्रकारका आकार, उमेर र रङका छन् । करीब १०० ओटा साना राता ग्यालेक्सी अहिलेसम्म जानकारीमा आएका छन् । यी ८० करोड वर्षदेखि अस्तित्वमा रहेको अनुमान छ । नजिकका ठूला चम्किला, राम्ररी पहिचानमा आएका, गोलाकार ग्यालेक्सीको विकास १ अर्ब वर्षपहिले भएको हो भने यो ब्रह्माण्ड १३ अर्ब वर्ष पुरानो रहेको अनुमान छ । 

अदृश्य शक्ति अथवा पदार्थ (डार्क इनर्जी र डार्क म्याटर) ले ब्रह्माण्डको विस्तार र सञ्चालन गरिरहेको छ भन्ने तथ्यले अन्तरिक्षबारे खोजी गर्ने जोकोहीलाई आश्चर्यचकित बनाएको छ ।  

यहाँ हामी बस्ने ब्रह्माण्डसम्बन्धी केही आश्चर्यजनक तथा रमाइला तथ्यहरु प्रस्तुत गरिएका छन् :

ब्रह्माण्ड कति बूढो छ 

ब्रह्माण्ड बिग ब्याङ अथवा महाविस्फोटपछि अस्तित्वमा आएको हो । महाविस्फोट करीब १३ अर्ब ७० करोड वर्षपहिले भएको अनुमान छ । (त्यसको करीब १३ करोड वर्ष पूर्व अथवा पश्चात्)

अन्तरिक्षविद्हरुले ब्रह्माण्डमा भएका पदार्थको संरचना तथा ऊर्जाको घनत्व मापन गरेर यो गणना गरेका हुन् । यसबाट उनीहरुलाई ब्रह्माण्ड कति छिटो फैलिरहेको छ भन्ने आकलन गर्न सहज बनायो । नतिजास्वरुप अध्येताहरुले बिगब्याङको विन्दुसम्म पुगेर समयको गति पहिल्याउन समर्थ भएको बताइएको छ । महाविस्फोटदेखि अहिलेको अवस्थाबाट नै ब्रह्माण्डको उमेर निर्धारण गरिएको हो । 

ब्रह्माण्ड फैलिँदै छ  

सन् १९२० मा अन्तरिक्ष वैज्ञानिक एडविन हब्बलले ब्रह्माण्ड स्थिर नभई फैलिँदो अवस्थामा रहेको तथ्य फेला पारेका थिए । तर, ब्रह्माण्डीय पदार्थको गुरुत्वाकर्षणले ती पदार्थलाई एकअर्कामा अनुबन्धित गरी ब्रह्माण्डको फैलिने गतिलाई सुस्त बनाइरहेको धारणा पनि एकातर्फ छँदै छ । 

सन् १९९८ मा हब्बल स्पेस टेलिस्कोपले धेरै टाढाको सुपरनोभा (अचानक तीव्ररुपमा चम्किने तारा) हरुको अध्ययन गरेर लामो समयअघि ब्रह्माण्ड अहिलेको भन्दा धेरै सुस्त गतिमा फैलिएको देखाएको थियो । यो अनौठो तथ्यले एक अदृश्य शक्ति (डार्क इनर्जी) ले ब्रह्माण्डलाई चलाइरहेको र विस्तार गरिरहेको संकेत गर्छ । डार्क इनर्जी अथवा अनौठो शक्तिले ब्रह्माण्डको कुनै क्षेत्रलाई फैलाउने गतिमा अझै वृद्धि गरिरहेको धारणा छ । यो विज्ञानको लागि एक ठूलो रहस्य हो, वैज्ञानिकहरुले पनि यस शक्तिलाई मायावी शक्तिको उपमा दिएका छन् । 

रहस्यमय डार्क इनर्जीले ब्रह्माण्डको विस्तारमात्र गरिरहेको छैन, यसले ब्रह्माण्डका हरेक पदार्थलाई बढ्दो गतिमा सञ्चालन गरिरहेको पनि अनुमान छ । 

सन् १९९८ मा वैज्ञानिकहरुको दुई समूहले ब्रह्माण्ड फैलिएको मात्र नभई यो घुमिरहेको पनि घोषणा गरेका थिए । अनुसन्धाताहरुका अनुसार पृथ्वीको सबैभन्दा टाढा रहेको ग्यालेक्सी अन्य ग्यालेक्सीको तुलनामा तीव्र गतिमा अझै टाढा गइरहेको छ ।  
अल्बर्ट आइन्सटाइनको जनरल रिलेटिभिटीको सिद्धान्तले पनि ब्रह्माण्ड घुमिरहेको सिद्ध गरेको छ । 

वैज्ञानिकहरुले अवर्णनीय डार्क इनर्जीले गुरुत्वाकर्षणलाई प्रतिकार गर्दै ब्रह्माण्डलाई कसरी कुनै एक गतिमा सञ्चालन गर्दै फैलाइरहेको छ भन्ने बुझ्न आइन्सटाइनको सिद्धान्तको पुनर्मूल्यांकन समेत गरेका थिए ।

तीन वैज्ञानिकले ब्रह्माण्डको विस्तारको गति अझै बढिरहेको छ भन्ने सन् १९९८ को उक्त अन्वेषणका लागि सन् २०११ को भौतिक विज्ञानतर्फ नोबेल पुरस्कार नै जितेका थिए । 

ब्रह्माण्ड चाक्लो हुन सक्छ 

ब्रह्माण्डको आकार गुरुत्वाकर्षणबीचको संघर्ष र फैलावटको गतिमा निर्भर रहन्छ । यदि ब्रह्माण्डको घनत्व कुनै निश्चित मानमा आधारित छ भने ब्रह्माण्ड कुनै गोलाकारमा बन्द हुन सक्छ । यसको तात्पर्य ब्रह्माण्ड अनन्तसम्म फैलिएको छैन तर यसको अन्त्य पनि छैन । यस्तो अवस्थामा ब्रह्माण्ड पक्कै पनि अन्तमा फैलिन रोकिनेछ र आफैमा हराउन थाल्नेछ । जुन अवस्थालाई बिग क्रन्च नाम दिइएको छ । 

यदि ब्रह्माण्डको घनत्व घनिष्ठ घनत्वको मानभन्दा कम भएमा ब्रह्माण्डको आकार खुला हुनेछ । यस्तो अवस्थामा ब्रह्माण्डको कुनै सीमा रहँदैन र यो निरन्तर फैलिरहनेछ भन्न सकिन्छ । यदि ब्रह्माण्डको घनत्व घनिष्ठ घनत्वको बराबर भएमा ब्रह्माण्डको आकार कागजको पानाजस्तै चाक्लो हुनेछ । 

यहाँ, ब्रह्माण्डको कुनै सीमा छैन र निरन्तर फैलिरहनेछ । तर, फैलावटको गति भने कुनै निश्चित अवधिमा शून्यमा झर्नेछ र हालका तथ्यांकहरुले ब्रह्माण्ड चाक्लो हुन सक्ने संकेत गर्दछन् । 

ब्रह्माण्ड अदृश्य वस्तुले भरिएको छ 

अनुसन्धाताहरुका अनुसार ब्रह्माण्ड अनन्त अदृश्य पदार्थले बनेको छ । जति पनि जानकारीमा अथवा दृश्यमा आउन सक्ने तारा, ग्रह, ग्यालेक्सी आदि छन्, तिनले ब्रह्माण्डको केवल ४ प्रतिशत भाग ओगट्छन् । ब्रह्माण्डको ९६ प्रतिशत अंश त्यस्ता पदार्थले युक्त छ, जुन या त अदृश्य छन्, कि त तिनलाई सजिलै देख्न र जान्न सकिँदैन । डार्क इनर्जी अथवा डार्क म्याटर भनी चिनिने यी रहस्यमय पदार्थलाई अहिलेसम्म पहिचान गर्न सकिएको छैन । तर, अन्वेषकहरुले ब्रह्माण्डमा स्थित दृश्य पदार्थमा ती अदृश्य पदार्थको गुरुत्वाकर्षणको प्रभाव रहने भएकाले त्यस्ता अदृश्य पदार्थको पनि अस्तित्व स्वीकार गरेका छन् । 

ब्रह्माण्डमा यसको जन्मको प्रतिध्वनि छ 

ब्रह्माण्डको माइक्रोवेभ ब्याकग्राउन्ड करीब १३ अर्ब ७० करोड वर्ष पूर्वको बिगब्याङ (महाविस्फोट) पछि उत्पन्न प्रकाश र ध्वनिको प्रतिध्वनि हो । महाविस्फोटको अवशेष रेडिएसनको आवरण जसरी ब्रह्माण्डमा फैलिएको छ, यूरोपेली अन्तरिक्ष एजेन्सीको प्ल्यांक मिसनले ब्रह्माण्ड कसरी सुरु भयो भनी पत्ता लगाउन पूरा आकाशको माइक्रावेभ प्रकाशको मापन गरेको थियो । अन्वेषकहरुले उक्त मिसनबाट प्राप्त तथ्यको प्रयोग गर्दै ब्रह्माण्डको उत्पत्तिको समयलगत्तै के भयो भन्ने प्रश्नको उत्तर खोजी गर्ने प्रयास गरिरहेका छन् । 

स्रोत : स्पेसडटकम

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै