• २०८१ बैशाख १३ बिहीबार

प्रदेश ३ को स्थायी राजधानी र नामको टुङ्गो चाँडै लाग्ने 

kharibot

हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज बसेको बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको अनुमान शीर्षकमा छलफल जारी रह्यो ।

छलफलमा नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेशको स्थायी राजधानी र यसको नाम आगामी आवभित्रै लगाउन प्रक्रिया शुरु भइसकेको बताए । 

उनले सरकारको सीमित स्रोतसाधनको सीमाभित्र रहेर प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजना, भौतिक पूर्वाधार, विकास र स्वरोजगार कार्यक्रमलाई स्थानीय तहगत रुपमा कार्यान्वयन गर्न सरकारले प्रत्येक महीना योजनाको कार्यसूची तयार पारी सम्बन्धित निकायलाई कार्यान्वयन गर्न निर्देशिका पठाइने स्पष्ट पारे ।

मुख्य सचेतक फुँयालले बजेटले प्रदेश ३ भित्र १३ जिल्लालाई जोड्ने पुष्पलाल चक्रपथ मार्ग तथा  मकवानपुरको भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जोड्ने सुरुङ्मार्ग निर्माणका लागि उच्च प्राथमिकतामा राखी बजेट बाँडफाँट गरिएको बताए । 

“पक्ष–विपक्ष कुनै विभेद नगरी प्रदेशसभाका सदस्यहरुले सिफारिस गरेका विभिन्न योजनालाई निष्पक्ष ढङ्गबाट ६६ निर्वाचन क्षेत्रमा  समावेश गरिएको छ”, उनले भने ।

उनले प्रदेशमा खानेपानी, शिक्षा र प्रदेशको १३ जिल्लामा इन्धनबाट चल्ने सवारीसाधनलाई क्रमशः विस्थापित गरी आगामी २०८५ वैशाख मसान्तसम्ममा विद्युतीय सेवाबाट सञ्चालन गरिने यातायात सेवालाई उच्च प्राथमिकतामा राखी बजेटलाई रकमान्तर गरिएको उल्लेख गरे ।

प्रदेशसभामा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता न्हुच्छेनारायण श्रेष्ठले सरकारले बजेट विनियोजन गर्दा प्रतिपक्षी दलको भावनालाई उपेक्षा गरिएको, समानुपातिक, राष्ट्रिय गौरवको आयोजना, भौतिक पूर्वाधार र खानेपानी निर्माण गरी उपलब्ध गराउन बजेटले दृढतापूर्वक कार्यान्वयन पक्षलाई सवल पार्न नसकेकामा चिन्ता व्यक्त गरे ।

बैठकमा राप्रपा संयुक्तकी रीना गुरुङ र साझा विवेकशील पार्टीकी शोभा शाक्यले सरकारले प्रस्तुत गरेको बजेटले दीर्घकालसम्म योजनालाई तल्लो तहसम्म कार्यान्वयन गर्ने पक्षमा ठोस आधार नदेखिएको बताए । 

बैठकमा प्रदेशसभा सदस्यहरु प्रभात तामाङ, बसन्त मानन्धर, भावना सुवेदी, शेषजङ्ग थापा, सीता अधिकारी, घनश्याम दाहाल, राजकाजी महर्जन, प्रेमबहादुर पुलामी, कल्पना नेपाली, विनोद खड्का, बुद्धिमान माझी, मुनु सिग्देल, दिपेन्द्र श्रेष्ठ, विजय सुवेदी, रत्नप्रसाद ढकाल, सन्तबहादुर प्रजा, लक्ष्मण लम्साल, विवीमाया घले, माधवप्रसाद पौडेल, आङदव्य लामा, ओमबहादुर घलान, पुकार महर्जन, सीता लामा, प्रकाश श्रेष्ठ, प्रदीप कटुवाल, दीपक निरौलालगायतले सरकारको नीति कार्यक्रम तथा बजेटमा प्रस्तुत भएका एजेण्डालाई व्यवहारिक, जनमुखी र उत्पादनमुखी बनाउन सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । 

प्रदेशसभा उपसभामुख राधिका तामाङले अर्को बैठक असार ८ गते दिउँसो १ बजे बस्ने जानकारी दिईन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै