• २०८१ बैशाख १२ बुधबार

विश्वकपमा न्युजील्याण्ड अपराजित

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत न्युजील्याण्डले आफ्नो अपराजित यात्रा कायम राखेको छ । गएराती सम्पन्न खेलमा न्युजील्याण्डले वेस्टइन्डिजमाथि ५ रनको सनसनीपूर्ण जित हासिल गर्दै प्रतियोगितामा अपराजित रहेको हो ।

न्युजील्याण्डले दिएको २९२ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले ४९ ओभरमा २८६ रन बनाउदा अल आउट भएपछि खेल ५ रनको झिनो अन्तरले गुमाएको थियो ।

वेस्टइन्डिजका लागि कार्लोस ब्रेथवेटले ८२ बलमा १०१ को आक्रामक शतकीय पारी खेलेका थिए । त्यस्तै क्रिस गेलले ८७ रन बनाएर आउट भएका थिए भने शिमोन हिटमेयरले ५४ रन बनाएका थिए । त्यस्तै शेलडन कोट्रेलले १५ तथा केमार रोचले १४ रन बनाएका थिए ।

वेस्टइन्डिजका साइ होप र निकोलस पुरन १-१ रन बनाएर आउट भए भने कप्तान जेसन होल्डर र एवीन लुइस शुन्यमा आउट भएका थिए । 

त्यस्तै न्युजील्याण्डका बलर ट्रेन्ट बोल्टले सर्वाधिक ४ विकेट लिए भने लुकी फर्गुसनले ३ विकेट लिएका थिए । बोल्टले १० ओभरमा एक मेडनसहित केबल ३० रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै माट हेनरी, जेम्स नीशम र ग्राण्डहोमले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले कप्तान केन विलियमसनको शतकीय पारीको मद्धतले ५० ओभरमा ८ विकेट गुमाउदै २९१ रन बनाएको थियो ।

केनले १४६ रनको पारी खेलेका थिए । त्यस्तै रोज टेलरले ६९ रन बनाएका थिए । दुवै ओपनर लाई शुन्य-शुन्य रनमा गुमाएको न्युजील्याण्डको पारी केन र टेलरले सम्हालेका थिए । दुवै तेस्रो विकेटका लागि १६० रनको साझेदारी गरेका थिए ।

न्युजील्याण्डका लागि जेम्स नीशमले २८, ग्राण्डहोमले १६, टम लाथमले १२ रन बनाएका थिए ।

वेस्टइन्डिजका बलर शेलडन कोट्रेलले सर्वाधिक ४ विकेट लिए भने कार्लोस ब्रेथवेटले २ तथा क्रिस गेलले एक विकेट लिएका थिए ।

खेलको प्लेयर अफ द म्याच न्युजील्याण्डका कप्तान केन विलियमसन भए ।

यो जितसँगै न्युजील्याण्ड अंक तालिकामा ६ खेलमा ११ अंक हासिल गर्दै शिर्ष स्थानमा पुगेको छ । त्यस्तै वेस्टइन्डिज भने ६ खेलमा केवल ३ अंक हासिल गर्दै लगभग विश्वकपबाट बाहिरिएको छ ।

विश्वकप अन्तर्गत आज पाकिस्तान र दक्षिण अफ्रीकाबीच खेल हुदै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै