• २०८१ बैशाख ४ मंगलबार

मिर्गौला पीडित कुमालको उपचारमा प्रवासी नेपालीद्वारा सहयोग

kharibot

बेझाड । रामपुर नगरपालिका–८ बस्ने मिर्गौला पीडित भीमबहादुर कुमालको उपचारमा प्रवासी नेपालीबाट आर्थिक सहयोग जुटेको छ । रामपुर जापान सम्पर्क मञ्चले ३१ वर्षीय कुमालको उपचारका लागि रु ८८ हजार ८८८ रकम सहयोग गरेको हो ।

यसैगरी कुमालको उपचारमा सहयोगस्वरुप रामपुर नगरपालिकाले रु १२ हजार २२३, रामपुर ८ का समाजसेवी नरनारायण अर्याल र  रामपुर ५ का निराजन रेग्मीले पनि नगद रु पाँच÷पाँच हजार सहयोग प्रदान गर्नुभएको छ । वडा नं ८ का जनप्रतिनिधि तथा कर्मचारीबाट रु १५ हजार नगद सहयोग गर्ने घोषणा गरिएको छ । 

कुमाललाई सो रकम नगर प्रमुख रमणबहादुर थापाले हस्तान्तरण गर्दै सामान्य रोगको पनि ख्याल नगर्दा ठूलो रोगले आक्रमण गरेर सताउने हुदा समय समयमा स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराएर निरोगी रहन सकिने बताए । 

रामपुर जापान सम्पर्क मञ्चले सङ्कलन गरेको सो रकम प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालमार्फत पीडितलाई सहयोग गरिएको हो । 

आफूलाई उपचारमा सहयोग गर्ने दातालाई धन्यवाद दिँदै जीवन रक्षाका लागि थप सहयोगको कुमालले याचना गरे । सात वर्षसम्म वैदेशिक रोजगारीमा कार्यरत ३१ वर्षीय कुमाल दुवै मिर्गौलाले काम गर्न छाडेपछि सात महीना अगाडि स्वदेश फर्किएका थिए । 

उनले वैदेशिक रोजगारीको क्रममा सवारी चालकको काम गर्थे । कुमालका बुबा, आमा, श्रीमती, दुई छोरा छन् । सामान्य परिवारका कुमाल आफू नै बिरामी परेपछि परिवारको जीवन गुजारा चलाउन समस्या परेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै