• २०८१ बैशाख ८ शनिबार

भेरी बबई आयोजनाबाट २१ हेक्टर जमीन डुबानमा पर्ने

kharibot

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाका कारण २१ हेक्टर जमीन डुबानमा पर्ने भएको छ । पछिल्लो सर्भेले तल्लोतटीय क्षेत्रका १३ हेक्टर दर्ता र आठ हेक्टर ऐलानी जग्गा डुबानमा पर्ने आयोजनाले जनाएको छ । 

पाँच वर्षअघि गरिएको सर्भेमा आठ हेक्टर जमिन मात्रै डुबानमा पर्ने उल्लेख थियो । पुरानो सर्भे प्रतिवेदनप्रति प्रभावित क्षेत्रका बासिन्दाले असन्तुष्टि व्यक्त गरेपछि आयोजनाले पुनः सर्भे गरेको हो । आयोजनाबाट ११ घर प्रभावित हुनेछन् ।

आयोजनाले यसै साता प्रमुख जिल्ला अधिकारीलाई जग्गा अधिग्रहणसम्बन्धी प्रतिवेदन बुझाउने तयारी गरेको छ । चालू आवभित्रै मुआब्जा वितरण गर्न रु १० करोड बजेट छुट्याइएको छ । मुआब्जा निर्धारण भने प्रमुख जिल्ला अधिकारी संयोजकत्वको समितिले टुङ्गो लगाउनेछ । 

भेरीको पानीलाई भेरीगङ्गा नगरपालिका–९ को चिप्लेदेखि भेरीगङ्गा नगरपालिका–१ को हात्तीखालमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले शुरु गरिएको आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ । 

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) श्रीप्रसाद साहले चालू आर्थिक वर्षभित्रै मुआब्जाको टुङ्गो लगाउने जानकारी दिए । मुआब्जाको टुङ्गो लागेपछि मात्र ड्याम (बाँध) निर्माणको काम शुरु गर्ने उनको भनाइ छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै