• २०८१ बैशाख ८ शनिबार

सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो : कृष्ण सिटौला

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोजेको बताएका छन् ।

‘जिपी कोइराला अध्ययन केन्द्र’ले स्व गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘देशको राजनीतिक परिस्थिती र नेपाली काङ्ग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा उनले सरकारले संवैधानिक व्यवस्थालाई बलियो बनाउनुभन्दा पनि कमजोर पार्दै गएको आरोप लगाए ।

“लामो समयपछि उपलब्ध भएको लोकतान्त्रिक व्यवस्था दुर्घटनाग्रस्त नहोस्,” उनले भने । लामो समयदेखिको जनताको अधिकारलाई संविधानले प्रदान गरेकाले यसलाई टिकाइराख्नु आजको प्रमुख दायित्व भएको नेता सिटौलाको भनाइ थियो । 

स्वर्गीय कोइरालाको योगदानका कारण मुलुक अहिलेको अवस्थामा आएको र गिरिजाबाबुको सम्झनाले लोकतन्त्रलाई झन् सुढृढ पार्र्न मद्दत पुग्ने नेता सिटौलाले बताए । “सरकार गलत बाटोमा र प्रतिपक्ष कमजोर भएकाले देशले गति लिन नसकेको हो”, उनले भने । काङ्ग्रेसले सङ्गठनबिना जागरण अभियान गरेको र सङ्गठनबिनाको जागरण अभियानले पार्टी बलियो हुन नसक्ने उनको भनाइ थियो । 

काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । उनले संविधानको आधारमा ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्दै गएको बताए । नेता थापाले काङ्ग्रेसलाई मजबुद र जीवन्त बनाउन समयमै  पार्टीको १४औँ महाधिवेशन गराउन आग्रह गरे । “पार्टीको भविश्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन”, थापाले भने । 

काङ्ग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीले लोकतन्त्रलाई जोगाउन फेरी आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । पार्टीभित्र योगदान गरेका व्यक्तिको अवमूल्याङ्न गर्दा पार्टीले हार व्यहोरेको उनको भनाइ थियो ।  केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतन्त्रलाई खोस्ने गरी सरकारले सूचना प्रविधि विधेयक, प्रेस काउन्सिल विधेयक र मानवअधिकार विधेयक ल्याएको आरोप लगाए ।

काङ्ग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, नेता देवराज चालिसे, उत्तम चापागाईं, कुन्दन काफ्लेलगायतले पार्टीभित्र सुधारको खाँचो रहेको बताए । स्थानीय तहको संरचनाबिनाको जागरण अभियानले पार्टी बलियो हुन नसक्ने उनीहरुको भनाइ थियो । अध्ययन केन्द्रले गिरिजाबाबुको बारेमा खोज तथा अनुसन्धान गर्दै आएको केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै