• २०८१ बैशाख १३ बिहीबार

आधुनिक जीवनशैलीले कमजोर बनाइरहेछ मानिसको हाड 

kharibot

काठमाडौं । नयाँ किसिमको रहनसहनले हाम्रो जीवनमा मात्रै असर पुर्याएको छैन, यसले हाम्रो शरीरको बनावटमा पनि परिवर्तन ल्याइरहेको विभिन्न शोधबाट प्रमाणित भइसकेको छ ।

नयाँ अध्ययन प्रतिवेदनले पनि शिरको पछिल्लो भागमा रहेको हाड बढिरहेको र कुहिनोको हड्डी कमजोर हुँदै गएको देखाएको छ । शरीरमा देखिएको यसप्रकारको परिवर्तन निकै आश्चर्यजनक छ ।

हरेक मानिसको शारीरिक ढाँचा उसको डीएनएको अनुसार तयार हुन्छ । तर, जीवन जिउने तरिकाका साथै त्यसमा परिवर्तन हुन लाग्छ ।

शोधकर्ताहरु हड्डीको बायोग्राफीलाई अस्टियो बायोग्राफी भन्दछन् । यसमा हड्डीको ढाँचालाई हेरेर व्यक्तिले कस्तो जीवन जिउँथ्यो भन्ने पत्ता लगाउने कोसिस गरिन्छ । व्यक्ति कसरी हिँडडुल गथ्र्यो, बस्थ्यो, उभिन्थ्यो आदि । मानिसले जस्तो जीवनशैली अपनाउँछ, उसको शरीरले त्यसैअनुरुप आकार ग्रहण गर्छ भन्ने मान्यतामा यो बायोग्राफी आधारित छ ।

आजभोलि हामी ल्यापटप, कम्प्युटर, मोबाइलमा धेरै समय बिताउँछौं । यसकारण हाम्रो कुहिना अधिकांश समय मोडिएको हुन्छ । यसको असर शारीरिक बनावटमा पनि पर्दछ ।

जर्मनीमा गरिएको एक अध्ययनमा त्यहाँका युवाहरुको कुहिनो पूर्वज युवाको तुलनामा पातलो हुन लागेको छ । यसबाट नयाँ जीवनशैलीले हाम्रो शरीरको बनावटमा विशेष असर पार्ने यसले सिद्ध गर्दछ ।

सन् १९२४ मा मारियाना र गुआम द्वीपमा उत्खननको क्रममा एक विशालकाय मानिसको कंकाल प्राप्त भएको थियो । यो कंकाल सोह्रौं अथवा सत्रौं शताब्दीको रहेको बताइन्छ । यसमा खोपडी, हातको हड्डी, काँधको हड्डी र तिघ्राको तल्लो भागको हड्डी निकै बलियो थियो । यसबाट त्यसबेला त्यहाँका मानिस हालका मानिसको तुलनामा भिन्न रहेको थाहा हुन्छ ।

यो द्वीपको प्राचीन कथाहरुमा ताउताउ ताग्गाको उल्लेख मिल्छ । उनी कथाका शक्तिशाली पात्र हुन् । उनी त्यति शक्तिशाली किन थिए भन्ने अहिलेको प्रश्न हो ।

जुन क्षेत्रमा यो भीमकाय कंकाल प्राप्त भएको थियो, त्यहाँका मानिस ढुंगाको काम गर्दथे । ठूलाठूला चट्टान फुटाएर आफ्नो घर बनाउँथे । यो द्वीपको सबैभन्दा ठूलो घरमा १६ फुटको खम्बा गाडिएको थियो जसको तौल करीब १३ टन रहेको अनुमान छ ।

त्यसबेला आजभोलिको जस्तो मेसिन थिएन । त्यसैले त्यहाँका मानिसले कडा मिहिनेत गर्दथे । यही आवश्यकताका कारण नै उनीहरुको शरीरको हड्डी निकै बलियो हुन पुगेको बताइन्छ ।

यदि त्यस बेलाको तुलना २०१९ को मोडर्न जिन्दगीसँग गर्ने हो भने हाम्रो शरीर निकै कमजोर छ । यो जीवन जिउने नयाँ तरिकाको नतिजा हो । आजभोलि हरेक व्यक्ति आफ्नो घाँटी निहुराएर मोबाइलको स्क्रीनमा घोरिएको देखिन्छ ।

अस्ट्ेलियाका वैज्ञानिक डेभिड साहर मानिसको शरीरको बनावटमा पछिल्लो २० वर्षमा आएको परिवर्तनबारे अनुसन्धान गरिरहेका छन् । उनले आफ्नो अध्ययनमा पछिल्लो एक दशकमा मानिसहरुको खोपडीको एक हड्डी बढिरहेको भेटे ।

यसलाई विज्ञानको भाषामा एक्सटर्नल अक्सिपिटल प्रोट्युबरेन्स भनिन्छ । यो टाउकोको पछाडिपट्टि तल्लो भागमा गर्दनको ठीक माथि हुन्छ । टाउकोमा हातले छाम्ने हो भने यसको अनुभव गर्न सकिन्छ । यदि टाउकोमा कपाल नभए यो स्पष्ट रुपमा देख्न सकिन्छ ।

हालको दशकभन्दा पहिला खोपडीमा बढिरहेको यो हड्डी कसैकसैमा मात्रै पाइन्थ्यो । यो सबैभन्दा पहिले सन् १८८५ मा पाइएको थियो । त्यसबेला फ्रान्सका प्रसिद्ध वैज्ञानिक पल बोक्राको लागि पनि यो एक नयाँ खोज थियो । किनकि उनले धेरै प्रजातिमा अनुसन्धान गरिसकेका थिए, तर यस्तो हड्डी उनले भेटेका थिएनन् ।

जर्मनीमा भएको एक अर्को अनुसन्धानबाट पनि यस्तै किसिमको तथ्य फेला परेको छ । क्रिश्चियन सेफ्लरका अनुसार जर्मनीमा नयाँ पिँढीका बालबालिकाको शरीर लगातार कमजोर भइरहेको छ । विशेषगरी उनीहरुको कुहिनो पातलो र कमजोर भइरहेको छ । पहिला यसलाई वंशाणुगत मानिएको थियो । फेरि यसलाई कुपोषण भन्ने ठानियो ।

तर, जर्मनीजस्तो विकसित मुलुकमा कुपोषणको कुनै सम्भावना नै छैन । हाल आधुनिक जीवनशैलीलाई यसको कारण मानिएको छ । बालबालिकाले शारीरिक मेहनतको काम धेरै गरेमा उनीहरुको मांसपेशी र हड्डी सुगठित र सबल हुँदै जान्छ । तर, नयाँ जीवनशैलीमा बालबालिका व्यायाम पटक्कै गर्दैनन् जसको असर उनीहरुको शरीरमा पर्छ ।

मानव विकासक्रमले पनि मानिस एक दिनमा ३० किलोमिटर हिँड्न पैदल हिँड्न सक्ने देखाउँछ । तर, आजभोलि बालबालिका ३० मिटर पनि पैदल हिँड्न चाहँदैनन् । हाम्रो शरीरमा यो परिवर्तन धेरे लामो समयदेखि चलिरहेको छ । यसको ज्ञान भने हाल आएर भएको छ ।

मुखको दाँतलाई हेरेर पनि मानिसको खानपानबारे थाहा पाउन सकिन्छ । किनकि दाँतमा जस्तो किसिमको दबाब पर्छ, मुखको मांसपेशी र हड्डी बन्ने गर्दछ । हाल बालबालिकाको दाँत त्यति बलियो छैन । किनकि आजभोलि चपाउन आवश्यक नहुने, धेरै गलाइएको खाना बढी पाइन्छ । त्यस्तै, धेरै मानिस लिक्विड डाइट बढी लिन्छन् । त्यसैले हाल दाँतको समस्या साधारण भइरहेको छ ।

सिक्काको दुई पाटा भएझैं आधुनिक जीवनशैलीको पनि फाइदा र नोक्सान दुवै छ । हाम्रो भलाइ केमा छ भनी हामी आफैले नै तय गर्नुपर्छ ।

आधुनिक जीवनशैलीले हाम्रो जीवनलाई सजिलो र प्रगतिशील त बनाएको छ, तर खराब बानी व्यवहारका कारण हामी आफैले आफ्नो लागि समस्या उत्पन्न गरिरहेका छौं ।

बीबीसीबाट भावानुवाद

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै