• २०८१ बैशाख ७ शुक्रबार

चीनद्वारा कम्बोडियालाई बारुदी सुरुङ हटाउने उपकरण सहयोग

kharibot

कम्बोडिया । सशस्त्र हिंसात्मक युद्धबाट गुज्रिएको कम्बोडियालाई चीनले सोमबार बारुदी सुरुङ हटाउने उपकरण, भ्यान र मोटरसाइकल समेतका उपकरण सहयोग गरेको छ ।

चीनले उपलब्ध गराएका सामग्रीहरुमा बारुदी सुरुङ पत्ता लगाउने डिटेक्टर, बारुदी सुरुङ विस्फोटबाट हुनसक्ने क्षतिबाट बचाउन विशेष कपडा र हेल्मेट, भ्यान, मोटरसाइकल समेत रहेका छन् ।

कम्बोडियाका लागि चीनका राजदूत वाङ वेन्टियानले ती उपकरण कम्बोडियाली अधिकारीहरुलाई हस्तान्तरण गरे । उनले कम्बोडियामा युद्धकालमा बिछ्याइएका बेबारिसे बारुदी सुरुङहरु सन् २०२५ भित्रै हटाएर सर्वसाधारणलाई सुरक्षित तुल्याउन प्रतिबद्ध रहेको बताए ।

राजदूत वाङले विश्वका ४० भन्दा बढी देशलाई चीनले बारुदी सुरुङ हटाउने कार्यक्रममा मद्दत गरिरहेको जानकारी दिए ।

विश्वमै कम्बोडिया सर्वाधिक बारुदी सुरुङ प्रभावित मुलुक हो । सन् १९९८ मा युद्ध समाप्त हुनुअघिका करिब तीन दशकमा कम्बोडियामा करिब ४० देखि ६० लाख बारुदी सुरुङ बिछ्याइएको अनुमान छ ।

सरकारी प्रतिवेदन अनुसार बारुदी सुरुङ विस्फोटबाट सन् १९७९ देखि अप्रिल २०१९ को अवधिमा करिब १९ हजार ७७६ जनाको मृत्यु हुनुका साथै करिब ४५ हजार मानिस अंगभंग भएका थिए ।

कम्बोडियाली बारुदी सुरुङ सफाई प्राधिकरणका उपाध्यक्ष ली थुचले हालसम्म करिब एक हजार ८६९ वर्ग किलोमिटर क्षेत्रको बारुदी सुरुङ हटाइएको जानकारी दिए । उनले यस अभियानका क्रममा १० लाख ७० हजार व्यक्तिलक्षित बारुदी सुरुङ, २४ हजार ९२५ थान सैनिक टयाँक लक्षित बारुदी सुरुङ र २७ लाख ९० हजार थान विस्फोटक पदार्थ हटाइएको बताए ।

उपाध्यक्ष थुचले कम्बोडियाको अझै दुई हजार १४९ वर्ग किलोमिटर क्षेत्रमा धेरै बारुदी सुरुङ रहेको जानकारी दिए । सन् २०२५ सम्ममा बारुदी सुरुङ हटाइसक्न करिब ४० करोड ६० लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको पनि उपाध्यक्ष थुचले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै