• २०८१ बैशाख ७ शुक्रबार

सप्तरीका अधिकांश स्थानीय तहले गर्न सकेनन् परिषद्

kharibot

सप्तरी । सप्तरी जिल्लामा आवश्यक तयारी नगरेका कारण राजविराज नगरपालिकालगायत अधिकांश स्थानीय तहको परिषद् हुन सकेको छैन् । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले आन्तरिक तयारी गर्न नसक्दा परिषद् हुननसकेको हो ।

परिषद् सञ्चालन गर्ने विषयमा धेरैले सुरसार नै गरेका छैनन् भने केहीले छलफल चलाए पनि नीति तथा कार्यक्रम र बजेट बाँडफाँडका विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको छ । 

सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ स्थानीय तह छन् । खड्ग नगरपालिकाले सोमबार परिषद् सम्पन्न गरेको छ भने सुरुङ्गा नगरपालिकाको मङ्गलबार परिषद् सम्पन्न भएको छ । डाकनेश्वरी नगरपालिका तथा अग्निसाइर कृष्णसवरण र रुपनी गाउँपालिकामा परिषद् शुरु भएको सम्बन्धित नगरप्रमुखले जानकारी दिए ।

परिषद् शुरु भएको रुपनी गाउँपालिकाको वडा नं ३, ४ र ५ का वडाध्यक्ष र सदस्यले परिषद् बहिष्कार गरेको वडा नं ४ का वडाध्यक्ष छेदी इशरले बताए । परिषद् अगाडि हुनुपर्ने विभिन्न समितिको बैठक नबसी आवश्यक विधि र प्रक्रिया पूरा नगरी हतारमा परिषद् गरिएकाले बहिष्कार गरिएको वडाध्यक्ष इशरले बताए ।

अन्य स्थानीय तहमा परिषद् हुननसकेको जिल्ला समन्वय समिति सप्तरीले जनाएको छ । परिषद् ढिला हुँदा चालू आर्थिक वर्षको विकास निर्माणका योजना प्रभावित हुने जिल्ला समन्वय समिति सप्तरीका निमित्त जिल्ला समन्वय अधिकारी नवराज खडकाले बताए । स्थानीय सरकार सञ्चालन ऐनअनुसार परिषद् नभए केन्द्रबाट आउने अनुदानको रकम कटौती हुनसक्ने उनको भनाइ छ । ऐनमा आर्थिक वर्षको असार १० गते स्थानीय तहको परिषद् सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

कञ्चनरुप नगरपालिकामा मङ्गलबार नीति तथा कार्यक्रम पारित भएको जानकारी दिदै नगरप्रमुख वसन्त मिश्रले परिषद् भने आगामी असार १८ गते गर्ने योजना रहेको बताउनुभयो । आवश्यक तयारी पूरा नभएकाले परिषद् गर्न नसकिएको उनको भनाइ छ ।

सबै जनप्रतिनिधि र कर्मचारीहरु असारे विकासमा लागेका कारण परिषद्को तयारी गर्न नभ्याउँदा राजविराज नगरपालिकाले पनि परिषद् गर्न सकेको छैन । असारमा सक्नुपर्ने कतिपय कामको व्यस्तताका कारण परिषद्को तयारी गर्न नपाएको राजविराज नगरपालिकाका प्रमुख शम्भुकुमार यादवले बताए । उनले असार मसान्तभित्र परिषद् गर्ने गरी तयारी भइरहेको जनाए ।

कर्मचारी नबसेका कारण सप्तकोशी नगरपालिकाले परिषद् गर्न सकेन । तीन दिनको बिदा लिए पनि सात दिनपछि सोमबार मात्र प्रमुख प्रशासकीय अधिकृत बासुदेव रेग्मी आएकाले परिषद्को तयारी गर्न नसकिएको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम शर्माले बताए ।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले समयमा परिषद् गर्नुपर्ने महत्व नबुझेकाले असार १० गतेभित्र परिषद् गर्न बेवास्ता गरेको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षका प्रत्यासी जयप्रकाश ठाकुरले बताए । परिषद् गर्न नसकेका स्थानीय तहले असार मसान्तभित्र परिषद् गर्ने गरी आन्तरिक गृहकार्य गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै