• २०८१ बैशाख १४ शुक्रबार

राप्ती अस्पतालको ‘ब्लड बैंक’ मा फ्रिज अभाव

kharibot

तुलसीपुर / राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको कालिकादेवी रक्तसञ्चार केन्द्रमा रगत सङ्कलन गर्न आवश्यक फ्रिज अभाव रहेको छ । फ्रिज नहुँदा आवश्यकतानुसार रगत सङ्कलन गर्न नसकिएको केन्द्र प्रमुख सीतम रेग्मीले बताए ।

“एउटा मात्रै फ्रिज छ, त्यसमा थोरै मात्रै रगत सङ्कलन गर्न मिल्छ, तर एकैपटक धेरै रक्तदाता आएमा रगत सङ्कलन गर्न सक्ने अवस्था नै हुँदैन”, उनले भने , “त्यसका लागि हामीले पटक–पटक फ्रिज माग गर्ने गरेका छौँ ।” अहिलेको त्यो फ्रिजमा ४० देखि ४५ प्वाइन्टसम्म मात्रै रगत सङ्कलन गर्न सकिने उनको भनाइ छ । तर रक्तदान शिविर सञ्चालनमा धेरैले रक्तदान गर्ने भएकाले फ्रिजमा आवश्यकतानुसार सङ्कलन गर्न सकिने अवस्था छैन् ।

रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि पछिल्लो समय रक्तदान गर्नेको सङ्ख्यामा वृद्धि भएको भन्दै ठूलो खालको फ्रिज आवश्यक पर्ने उहाँको भनाइ छ । तुलसीपुर केन्द्रमा आठ÷नौ सय प्वाइन्ट रगत स्टक राख्न सक्ने फ्रिजको आवश्यकता छ ।

साथै सङ्कलन भएको रगत ३५ दिनभन्दा बढी राख्न नमिल्ने भन्दै त्यहीअनुसार स्टक राख्ने गरेको उनले बताए । अञ्चल अस्पताल परिसरमा समाजसेवी वामदेव उपाध्यायले आफ्नी दिवङ्गत श्रीमती कालिकादेवीको स्मृतिमा निर्माण गरिदिएको कालिकादेवी रक्त सञ्चार भवनमा गत वर्ष भदौदेखि केन्द्र सञ्चालन हुँदै आएको छ ।

नेपाल रेडक्रसले सञ्चालन गरिरहेको उक्त रक्त सञ्चार केन्द्रमा पटक–पटक ठूलो फ्रिज ल्याउने कुरा चले पनि अझै ल्याउन सकिएको छैन । फ्रिज ल्याउने कार्यमा पहल भइरहेको रेडक्रस दाङका अध्यक्ष नारायणप्रसाद शर्माले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै