• २०८१ बैशाख १२ बुधबार

बालविवाह न्यूनीकरण चुनौती बन्दै

kharibot

अछाम  / अछाम जिल्लाको रामारोशन गाउँपालिकामा व्याप्त रहेको बालविवाह न्यूनीकरण चुनौतीका रुपमा देखिएको छ । बालविवाह न्यूनीकरणका लागि सरकारी तथा अन्य गैरसरकारी सङ्घसंस्थाहरुले गाउँ र टोल केन्द्रित कार्यक्रमहरु सञ्चालन गरिरहेको भए पनि ती सबै कार्यक्रम बालुवामा पानी हाले जस्तै भइरहेको स्थानीयवासी बताउँछन् ।

गाउँपालिकाको अन्य वडाभन्दा वडा नं ४ र ५ मा अन्य वडाभन्दा बढी सङ्ख्या बालविवाह हुने गरेको पाइन्छ । वडामा करीब ७०÷८० प्रतिशत बालबलिका विद्यालय जाने उमेरमै अर्थात् १६÷१७ वर्षको उमेरभन्दा कम उमेरमै विवाह गर्दछन् । विद्यालयमा अध्ययन गर्दागर्दै बालबालिका विवाह बन्धनमा बाँधिन्छ । परिपक्व नहुँुदै आमा बन्छन् किशोरीहरु । त्यति मात्र नभई विद्यालयबाट वञ्चित हुनाका साथै रोजगारीको सिलसिलामा भारत पुग्ने क्रम पनि बढ्दो छ ।

“गाउँपालिकामा बाल क्लब छ । विद्यालयमा तथा गाउँ र टोलमा कार्यक्रमहरु सञ्चालन भइरहेकै छ”, रामारोशन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले भन्छिन् , “बाल क्लबमै लागेका बालबालिका पनि कम उमेरमै विवाह गर्छन् । सामाजिक अभियन्ताका छोराछोरी नै बालविवाह गर्छन् ।” गाउँमा सडक सञ्जाल जोडिए पनि सडकको अवस्था नाजुक छ । राम्रो अस्पताल नहुँदा कोही बिरामी भए पनि चार÷पाँच घण्टाको यात्रापछि जिल्लाको नमूना अस्पताल बयलपाटा अस्पताल पुग्नुपर्ने बाध्यता छ ।

गाउँपालिकासँग एम्बुलेन्स भए पनि सडक सञ्जालको समस्याका कारण एम्बुलेन्स सबै वडा कार्यालयसम्म पुग्न सकेको छैन । अशिक्षाको कमी, रूढीवादी सोच, जनचेतनाको कमी, मोबाइल फोन तथा सामाजिक सञ्जालको दुरुपयोग र देखासिकीका कारण पनि बालविवाह न्यूनीकरणको साटो झन् बढ्दै गएको पाइन्छ । गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदले पनि गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्नु गाउँपालिकाकै लागि चुनौती रहेको बताउछन्  । बाल क्लबका पदाधिकारी नै बालविवाह गर्छन् । अरूलाई सम्झाउने बालबालिकाहरू नै बालविवाह गर्छन् । बालबालिका विवाह गरेर गाउँबाट भारत भाग्नेसमेत गरेका छन् । तीन÷चार जोडीलाई कैलाली भन्सार कार्यालय र कञ्चनपुर गड्डाचौकी सीमा नाकाबाट बालबालिकाको उद्धार गरी गाउँपालिकाको रोहवरमा परिवारलाई बुझाएको अध्यक्ष साउद बताउछन्।

“गाउँपालिकाको मुख्य समस्या घरेलु मदिरा नियन्त्रण, छाउपडी प्रथा उन्मूलन र बालविवाह न्यूनीकरण नै हो”, अध्यक्ष साउदले भने , “हामी छाउपडी प्रथा उन्मूलन अभियान र घरेलु मदिरा नियन्त्रण अभियानमा गाउँपालिका सफल हुने देखिन्छ ।” गाउँपालिकाका अन्य वडाहरुमा पनि बालविवाह व्याप्त छ । अशिक्षाका कारण बालविवाह बढ्दै गएको सामाजिक अगुवाहरु बताउँछन् ।

विशेषगरी गाउँपालिकाभित्र दलित समुदायका बालबालिकाहरु बढी बालविवाह गर्ने गरेको तथ्याङ्क गाउँपालिकाले निकालेको छ । अन्य समुदाय पनि बालविवाहलाई नै प्रश्रय दिइरहेको गाउँपालिकाका उपाध्यक्ष रावल बताउछिन् , हिजोका दिनमा धर्म, संस्कारको नाममा बालविवाह हुने गरेका थिए । उपाध्यक्ष रावलले भनिन , “अहिले सामाजिक सञ्जाल र देखासिकीका कारण बालविवाह हुने गरेका छन् ।

गाउँपालिकाको न्यायिक समितिमा भने हालसम्म बालविवाहका दुई वटा मात्र उजुरी परेको बताउँदै न्यायिक समितिका संयोजक एवम् उपाध्यक्ष रावलले दुवै जोडीलाई छुटाएर २० वर्ष नपुगुञ्जलेसम्म सँगै बस्न नदिने सर्तमा परिवारको जिम्मा लगाएको बताएकी छन् । उपाध्यक्ष रावलले गाउँपालिकाले बालविवाह गर्ने परिवारलाई गाउँपालिकाबाट दिने सेवासुविधाबाट समेत वञ्चित गर्नुपर्ने अवस्था आइसकेको बताउछिन्  । आगामी आर्थिक वर्षमा गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै