• २०८१ बैशाख ६ बिहीबार

पानी आयो मल आएन !

kharibot

तुलसीपुर । खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि  तुलसीपुर –४ का मानबहादुर केसी एक सातादेखि मल दिने सहकारी धाइरहेका छन् । उनी जस्तै धेरैजसो किसानको अवस्था यस्तै छ ।

वनहरिका टेकराज रिजाल पनि मलका लागि एक सातादेखि दिनहुँजसो मल गोदाममा धाइरहेका छन् । तर गोदामसँग पनि मल कहिले आउने भन्ने विषयको जवाफ छैन । अनुदानको मात्र होइन, बिना अनुदानको मल पनि बजारमा किन्न पाइदैन ।

कृषिको आधुनिकरण र यान्त्रिकरण गरी निर्यातमुखी उत्पादन वृद्धिमा जोड दिइए पनि किसानलाई मल उपलव्ध गराउन सम्बद्ध निकायको चासो पुग्न नसकेको किसानको गुनासो छ ।  

असार पन्ध्रलाई सरकारले राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आएको छ । तर यो वर्ष मलको अभावले धान दिवसको अवसरमा खेती गर्न समस्या भएको छ । 

विगतजस्तै यसवर्ष पनि मुख्य बाली धानखेती शुरु हुन लाग्दा मलको अभाव देखिएको छ । लामो समयको खडेरीपछि पानी परेको पानीले खेती हुने आशामा बसेका किसानलाई रासायनिक मलको अभावले खिन्न बनाएको छ । ‘‘पानी आयो, मल आएन भएको मल पनि सकिएको रहेछ ’’, स्थानीय किसान करवीर वलीले भने । 

जिल्लामा पछिल्लो केही समयदेखि डिएपी मलको चरम अभाव रहेको छ । अनुदान विनाको युरिया मल बजारमा पाए पनि डिएपी भने नभएको किसान बताउछन् । ‘‘मल लिन कृषि सामाग्री कम्पनी लि कार्यालय पुगेको थिए, तर कृषिमा एक बोरा पनि मल छैन् त्यतिकै खाली हात घर फर्कनुपर्ने अवस्था आयो’’, अर्का किसान मोहन चौधरीले भने । 

अनुदानको मल बिक्री गदै आएको कृषि सामग्री कम्पनी लिमिटेडले पनि डिएपी मल केही महीनादेखि नआएको जनाएको छ । पहिलो चरणमा मल सहकारीलाई उपलव्ध गराए पनि पछिल्लो समयमा एक बोरा पनि डिएपी मल गोदाममा नभएको कृषि सामग्री कम्पनी तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिए । 

 “मल खरीदका लागि कुनैपनि प्रक्रियानै बढाइएको छैन, त्यसैले मल कहिले आउछ भन्न सकिने अवस्थानै छैन’’, कम्पनीका प्रमुख न्यौपानेले भने । भैरवामा पनि मल नभएकाले बताउंदै उनले सरकारले अझै पनि मलका लागि बोलपत्र आह्वान नगरेको बताएको छ ।
सहकारीमार्फत किसानलाई मल उपलव्ध गराउँदै आए पनि हाल त्यहाँ पनि मलको अभाव छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै