• २०८१ बैशाख ७ शुक्रबार

‘क्लिन फीड’ लागू गरेरै छाड्ने सरकारको दृढता

kharibot

काठमाडौँ । सरकारले ‘क्लिन फीड’ नीति लागू गरेरै छाड्ने दृढता व्यक्त गरेको छ । टेलिभिजन सेवा प्रदायकले क्लिन फीड नीति लागू गर्न लागेको भन्दै टेलिभिजन प्रसारण नै बन्द गरिरहेको बेला सरकारले उक्त नीति लागू गराउन कुनै पनि कसर बाँकी नराख्ने स्पष्ट पारेको हो । 

प्रतिनिधिसभाको समितिमा छलफल भइरहेको प्रस्तावित ‘विज्ञापन ऐन २०७६’ को केही व्यवस्थामाथि प्रश्न उठाउँदै टेलिभिजन सेवा प्रदायकले टेलिभिजन प्रसारण नै बन्द गरेर विरोध जनाएका थिए । 

नेपालको कला संस्कृतिको संरक्षण, भाषाको शुद्धता तथा नेपाली कलाकार र विज्ञानपन दाताको समेत हितलाई केन्द्रमा राखेर उक्त नीति लागू गर्न लागिएको सरकारको भनाइ छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त नीति लागू गरेरै छाडिने बताए । 

नेपालको पत्रकारिता क्षेत्र, मिडिया उद्योग, विज्ञापन व्यवसायीले वर्षौ पहिलेदेखि माग गर्दै आएको क्लिन फीड नीतिलाई सरकारले इमान्दर भएर लागू गर्न खोजेको उनको प्रष्टोक्ति छ ।

उक्त नीतिले हाम्रो आर्थिक हित मात्रै नभई मौलिकताको प्रवद्र्धन गर्ने नेपाली पन, नेपाली गौरवको बढावा दिने र रोजगारीको समेत अभिवृद्धि हुने मन्त्री बाँस्कोटाको भनाइ छ ।

उनले नेपालको प्रतिस्पर्धी क्षमताको विकासका लागिसमेत क्लिन फीड नीति लागू गर्न लागिएको स्पष्ट पारे । विपक्षमा रहेका व्यवसायीको विरोधको कुनै अर्थ नरहेको भन्दै उनले भने, “क्लिन फीड लागू भएर छाड्छ । समानुपातिक विज्ञापन नीति पनि लागू भएर छाड्छ ।

व्यवसायीले विरोध गर्न पाउँछन् । विधेयक समितिमा छलफल भइरहेको छ । पारित हुन्छ । अरु केही कानून पनि आउँछन् । कानूनहरु आउँछन् त्यसमाथि छलफल हुनु राम्रो हो ।” 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै