काठमाडौँ । नेपाल सरकारको एक नेपाली एक फलफूलको विरुवा रोपण अभियानलाई मुर्त रुप प्रदान गर्नको लागि नेपाली सेनाले पनि एक जवान एक विरुवा (फलफूलको बोट) रोपण अभियानको कार्यक्रम लागु गरेको छ ।
सोहि अभियान बमोजिम शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डा हाताभित्र विभिन्न जातका फलफूलका विरुवाहरु रोपर विरुवा रोपण अभियानको शुभारम्भ गरेका छन् ।
स्थानीय प्रतिनिधी तथा जनसमुदायको समन्वय, सहकार्य एवं सहभागीता जुटाई नेपाली सेनाका सबै पृतना, वाहिनी, गण र गुल्महरुबाट आ-आफ्नो जिम्मेवारी क्षेत्रका विभिन्न स्थानहरुमा द्रुतगतिमा व्यवस्थित तरिकाले व्यारेक हाताभित्र र बाहिर गरी १ लाख ५० हजार ९ सय ७७ वटा विभिन्न जातका स्थानीय हावापानी सुहाउँदो फलफूल तथा अन्य विरुवा रोपण, संरक्षण र सम्बर्द्धन गर्ने योजना अनुरुप प्रधानसेनापति थापाको उपस्थितिमा जंगी अड्डा हाताभित्र २५० वटा विभिन्न जातका फलफूलको विरुवा रोपण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा जंगी अड्डामा कार्यरत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।