काठमाडौं । तारकेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वयंसेविकाका लागि स्वास्थ्य र जीवन बीमाको व्यवस्था गर्ने भएको छ ।
नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वयंसेविका खटिनुपर्ने भएकाले स्वास्थ्य र जीवन बीमा गर्ने निर्णय गरिएको नगर स्वास्थ्य शाखाप्रमुख अरुणकुमार गिरीले बताए ।
यसबाट उनीहरुलाई काम गर्न थप हौसला मिल्ने उनको भनाइ छ । “बीमाले उपचारसँगै उनीहरुमा बचत गर्ने बानीको विकास हुन्छ”, गिरीले भने ।
कार्यक्रमबाट नगरपालिकाका १४२ स्वयंसेविका लाभान्वित हुनेछन् ।
उक्त कार्यक्रमका लागि नगरपालिकाले रु १० लाख विनियोजन गरेको छ ।
नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घरदैलौ स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ ।
आगामी आवदेखि सबै वडामा सो कार्यक्रम सञ्चालन गरिने सो नगरपालिकाले जनाएको छ ।