• २०८१ बैशाख ४ मंगलबार

संघिय संरचनाको काँग्रेस कहिले बन्छ ?

kharibot

फाइल तस्बीर

काठमाडौं : काँग्रेसभित्र अहिले संघीय संरचना गठन गर्ने कि नगर्ने भन्ने बहस तिब्र भएको छ । 

आगामी असार २२ गते काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ । केन्द्रीय समितिको बैठकमा प्रदेश, क्षेत्रीय र स्थानीय तहको संरचना निर्माण गर्ने माहोल बनाउन सबै पक्ष आ-आफ्नो तयारीमा जुटेका छन् ।

सभापति शेरबहादुर देउवा अहिले नै संघीय संरचना अनुसार प्रदेश, क्षेत्रीय र स्थानीय तहमा संरचना बनाउन अग्रसर भएका छन् । सभापति देउवाको सो अग्रसरतालाई काउन्टर दिदै अन्य समुहपनि आफ्नै रणनितिमा जुटेका छन् ।

केही दिनअघि सभापति देउवाले वरिष्ठ नेता पौडेललाई सातै प्रदेशमा समिति गठनको प्रस्ताव गरेका थिए । जसमा देउवाले ४ प्रदेशमा मनोनयन गर्ने र बाँकी ३ प्रदेशमा पौडेललाई दिने प्रस्ताव गरेको बताइन्छ । देउवाको सो प्रस्तावपछि काँग्रेस नेताहरु संगठन निर्माणबारे आन्तरिक छलफल तीव्र बनाएका छन् । 

यस सम्बन्धमा मंगलबार साँझ नुवाकोट काँग्रेसका सभापति जगदीश्वरनरसिंह केसीको काठमाडौं सामाखुसीस्थित निवासमा पौडेल र सिटौला समूहका नेताले अनौपचारिक छलफल गरेका छन् । बैठकमा वरिष्ठ नेता पौडेलसहित नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, महामन्त्री शशांक कोइराला, नेतृ सुजाता कोइरालालगायतका नेताहरु सहभागी भएका थिए ।

यस छलफलमा ठोस निर्णय नभएपनि देउवाविरुद्ध एक भएर अगाडी बढ्ने माहोल भने बताएको काँग्रेस नेताहरु बनाएका छन् । पौडेलसमुह सहितका नेताहरु सभापति देउवाले महाधिवेशन एक बर्ष पछाडी धकेल्ने र पार्टीलाई तदर्स समितिको आधारमा चलाउने तयारीको विरोध गर्दै आएका छन् । यस अघि नै बनिसक्नुपर्ने संघीय संरचना अनुसारका विभिन्न तहमा पार्टीका संरचना महाधिवेशन अगाडी गर्ने कि महाधिवेसनकै समयमा गर्ने भन्ने विवाद रहेको छ ।

पौडेल समुहले तुरुन्तै अधिवेशन गरेर सबै तहका निकाय गठन गर्नुपर्ने बताउदै आएका छन् भने सभापति देउवा मनोनित गरेर अहिलेलाई काम चलाउने रणनितिमा रहेका छन् ।

संघीय संरचना अनुसार संगठन नहुदा काँग्रेसले अघिल्लो महिनादेखि शुरु भएको जागरण अभियान समेत ओझेलमा परेको थियो ।                     

असार २२ देखि सुरुहुने केन्द्रीय समिति बैठकबाट पार्टी संरचना निर्माणदेखि भ्रातृ संगठनसम्बन्धी निर्णय गराउने तयारी सभापति देउवाले गरेका छन् । व्यापक गुनासोपछि विधान नियमावली समितिलाई समेत आउँदो बैठकमा मस्यौदा पेस गर्न निर्देशन दिएइएको छ ।

पौडेल र सिटौला समुहले विधानमा रहेको संक्रमणकालीन व्यवस्थाको संगठन भन्दै तदर्थ समिति मनोनयन गर्ने दाउमा सभापति देउवा रहेको आरोप लगाउदै आएका छन् । केसीको घरमा भेला भएका नेताले पनि यस्तै निष्कर्ष निकाल्दै नियमावलीमा केन्द्रीय समितिका अधिकारसमेत सभापतिले आफूसँग राखेको र त्यही आधारमा देउवा मनोनयनबाट समिति बनाउन लागेको आरोप लगाएका छन् ।

बैठकमा सहभागी पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले विधानमा भएको व्यवस्थाअनुसार वडादेखि प्रदेशसम्मका सबै संक्रमणकालीन संरचना निर्वाचनबाटै गठन गर्नुपर्ने निष्कर्ष इतर पक्षका सबै नेताले निकालेको बताए ।

गएको पुसमा महासमिति र माघमा केन्द्रीय समितिले अनुमोदन गरेको नयाँ विधान कार्यान्वयन गर्न रमेश लेखकको नेतृत्वमा ९ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो । समितिले नियममावली बनाएपछि कांग्रेसको नयाँ विधान कार्यान्वयनमा आउने छ ।

नियमावलीमा संक्रमणकालीन संरचना केन्द्रीय समितिले निर्णय गरेअनुसार गठन गर्न सकिने प्रावधान राख्न लागेको भन्दै देउवाविरोधी नेता असन्तुष्ट बनेका हुन् । उनीहरू विधानमा उल्लेख भएजस्तै सबै संरचना निर्वाचन प्रणालीबाटै गठन हुनुपर्ने पक्षमा छन् । 

यसबीच सभापति देउवाका तर्फबाट उपसभापति विमलेन्द्र निधी, महामन्त्री पूर्णबहादुर खड्का, रमेश लेखकलगायतका नेताहरुले पौडेल, सिटौलासमूहका नेतासँग अनौपचारिक संवाद सुरु गरेपनि त्यसको ठोस नतिजा भने आएको छैन ।

सभापति देउवा महामन्त्री शशांक कोइरालालाई साथमा लिएर नयाँ विधान अनुसार संगठन निर्माण गर्ने तयारी गरेको भएपनि काँग्रेस नेतृ सुजाता कोइरालाको हस्तक्षेप पछि शशांक पछि हटेको काँग्रेस वृतमा चर्चा रहेको छ । शशांक पछि हटेपछि सभापति देउवा वरिष्ठ नेता पौडेललाई नै मनाएर अगाडी बढ्ने तयारी गरेको काँग्रेसका नेताहरु बताउछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै