• २०८१ बैशाख ७ शुक्रबार

सामाजिक विविधतामा एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

kharibot

फाइल तस्विर । 

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त हाम्रो समाजमा वर्षौंदेखि चल्दै आएका रीतिरिवाज, चालचलनका आधारमा विविधतामा एकता कायम गर्नुपर्ने आवश्यकता औँल्याउनु भएका छन ।

एभरेष्ट बैंक लिमिटेडको सहयोगमा पोखराको शान्तिघाटस्थित सेती नदी किनारमा निर्मित वातावरण मैत्री शवदाहगृहको उद्घाटन गर्दै उनले विभिन्न जातजाति, भाषाभाषीको नेपाली समाजको दिगो एकता अरूका लागि पनि अनुकरणीय भएको चर्चा गरे ।

कुनै पनि नाममा हुने एकता विरोधी गतिविधि हामीहरुका लागि सह्य नहुने उल्लेख गर्दै प्रत्येक धर्म, संस्कृतिप्रतिको सम्मानलाई एकापसमा कायम गर्नुपर्नेमा उनले जोड दिए । प्रकृतिको अनुपम वरदानका रुपमा पोखरा रहेको चित्रित गर्दै मुख्यमन्त्री गुरुङले यहाँको सौन्दर्यतालाई क्षयीकरण हुन नदिन सबैको सचेतता अपरिहार्य भएको बताए ।

वातावरण मैत्री शवदाहगृह निर्माणसँगै यहाँको वातावरणीय स्वच्छतामा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शवदाहगृहको व्यवस्थित सञ्चालनका लागि कार्यविधि तय गरिने जानकारी दिँदै यसले वातावरण संरक्षणका साथै वन पैदावारको जगेर्नामा पनि सहयोग पु¥याउने धारणा राखे ।

एभरेष्ट बैकका निर्देशक डा बालगोपाल वैद्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शवदाहगृह निर्माणमा सहयोग गरेको बताउँदै यसको उपयोगसँगै संरक्षणमा जोड दिन आग्रह गरे । कार्यक्रममा निर्देशक वैद्यले शवदाहगृह महानगर प्रमुख जिसीलाई हस्तान्तरण गरेका थिए ।

एक करोड ३० लाखको लागतमा निर्मित आधुनिक शवदाहगृहमा एउटा शव जलाउन एक सय किलो दाउरा र एक घण्टा २० मिनेट मात्र समय लाग्ने कार्यक्रममा जानकारी दिइयो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै