• २०८१ बैशाख ७ शुक्रबार

स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्र बन्दै तातोपानी कुण्ड

kharibot

फाइल तस्विर । 

म्याग्दी / प्राकृतिक चिकित्सालय नामले संसारभरी चिनिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्ड पछिल्लो समय स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्रका रुपमा विकसित हुँदै जान थालेको छ ।

२०४२ सालमा पत्ता लगाइएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षण गरी कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले यो कुण्ड संसारभरी नै प्राकृतिक चिकित्सालयको रुपमा चिनिएको हो । मूलबाट नै ५७ डिग्री सेल्सियस तापक्रमको पानीमा विरेनुन र गन्धक मिश्रित वासना आउने यस कुण्डमा डुब्न र उपचार गराउनका लागि नेपालका साथै विदेशबाटसमेत पर्यटक र विरामीहरु आउने गरेका छन् ।

त्यसका साथै तातोपानी कुण्डप्रति शिक्षणसंस्था र विद्यार्थीहरुको पनि आकर्षण बढेको छ । यहाँ समय समयमा शैक्षिक भ्रमणका लागि टाढाटाढाबाट समेत विद्यार्थीहरु आउन थालेका छन् भने अनुसन्धान गर्न समेत विभिन्न शैक्षिक संस्थाहरुबाट विद्यार्थी आउने गरेका छन् ।

तातोपानी कुण्ड म्याग्दीको सदरमुकाम बेनीदेखि ९ किलोमिटर पश्चिममा पर्दछ । तातोपानी कुण्डमा सवारी साधनबाट सजिलै पुग्न सकिन्छ । जिल्लामा आउने उच्च सरकारी अधिकारी, केन्द्रीयस्तरका नेताहरु, स्वदेशी तथा विदेशी पर्यटक तातोपानी कुण्डमा नुहाउन र अवलोकन गर्न पुग्ने क्रम बढेसँगै तातोपानीको कुण्डमा स्वास्थ्य उपचारको महत्व बढेको हो ।

लाखौँ रकम खर्च गरी स्वदेश तथा विदेशका महङ्गा र ठूला अस्पतालमा पुगेर उपचार गर्दा पनि रोग निको नभएपछि यहाँ दीर्घरोगीहरु पनि तातोपानी कुण्डमा डुबेर बाफिई उपचार गरेपछि निको भएर फर्केका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

कुण्डमा नेपालको अधिकांश जिल्लाका साथै स्नान गर्नका लागि भारत, जापान र बङ्गलादेशबाट समेत वर्षेनी सयौँ विदेशीहरु आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिए । कुण्डमा एकपटक आएर डुबेका बिरामीहरु निको भएपछि फर्किएर पटकपटक आउने गरेका छन् । कुण्डमा वार्षिक झण्डै २० हजारको हाराहारीमा बिरामीहरु स्नान गर्न आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिको तथ्याङ्क रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै