प्रोफेसरको प्रेम कहानी - कथा

खरीबोट

‘बूधनी देवी’ नाम सगैँ जोडियो पूर्णविराम । प्रोफेसरले मोबाइलको स्क्रीनमा अरु एक शब्द पनि लेख्न सकेनन् । त्यसअघि यस्तो कहिल्यै पनि भएको थिएन । प्रोफेसर सरदको परिचय नै बढी लेख्ने अनि विद्यार्थीलाई नोट लेखाएर कहिल्यै नथाक्ने । लेख्नु अगाडी उनलाई लागेको थियो उनी धेरै कुरा लेख्ने छन् । रित्याउनेछन् मन । तर अचम्म् ! उसले मोबाइलको स्क्रीनमा त्यही बूधनी देवि पनि हात कमाउँदै कमाउँदै लेख्न भ्याए । खै के भो दैव जानून् । 

बूधनी देवी निख्खर काली छे । आजकल के भाको हो प्रोफेसरको मन ! उनलाई कालै मात्र मन पर्छ । कालो कारबाट यूनिभर्सिटिको गेटमा उत्रँदा उनका खुट्टामा काला जुत्ता टलक्कै टल्किएका हुन्छन् । गलामा कालो टाई, कालै कभर भएको नोट, कालो पेन, कालो छाता आदि इत्यादि । यी पछिल्ला दिनहरूमा त प्रोफेसर पावरवाला गग्स लगाउँछन् त्यो पनि कालै कलरको । कपालमा अड्याउन बिचरा कपालै छैन, पढाउने बेलामा उनलाई गग्स कता राखौँ भन्ने जहिल्यै अलमल हुन्छ ।

बूढा आजकल बढी नै टोलाउँछन् । बिनाकारण मुसुक्क मुस्कुराउँछन् । ह्वाइट बोर्डमा डिमान्ड कर्भ कोर्दा उनको हात थर्थराउँछ अनि रेखा नपत्याउँदो नागबेली बन्छ । कडा स्वभावका सरद सर विद्यार्थी तिर फर्केर आदेश दिन्छन्– ‘मैले जस्तै स्ट्रेट बनाओ ।’ केटाहरू गलल्ल हाँस्छन् बूधनी देवी ठूँस्स पर्छे । अरु हाँसेको उस्लाई मन परर्दैन । 

जति कडा भए पनि चिया खाने बेलामा सरद सरलाई विद्यार्थी कै जमात मन पर्छ । एकदिन रामेले सबैलाई दूध चिया मगायो । सधैँ दूधचिया खोज्ने सरद सरले हतार–हतार भने–‘चिया त कालै खाने हो दूधचिया खाँदा–खाँदा वाक्कै भइयो ।’ पहिला–पहिला त सर भन्थे ‘कालो चिया पनि चिया हो ?असली  चिया त दूध चिया हो । जिएमटि पनि कसैले खान्छ ?याने कि गोरु मूते चिया ??’ गहूँत जस्तै कालो देखिने चियाको उनी कडा विरोधी थिए ।

सरद सरले एम.ए. इकोनोमिक्सको पहिलो क्लास सम्झिएँ । परिचय गर्ने क्रममाबूधनी देवीले बोलेको सम्झिए–‘ मेरो नामबूधनी देवी यादव । घर तराइ छ, सर्लाही । तपाईबाट हामी धेरै कुरा सिक्न यहाँ आएछू ।’ त्यसै दिन देखि सरद सरलाई बूधनी असाध्यै मन परी ।

क्लासमा अरु गुड मर्निङ्ग सर भन्थे, बूधनी देवी मुसुक्क हाँस्थी । उस्का गाला तन्कन्थेँ अनि सेता दाँत टलक्कै चम्कन्थे । कति आत्मिय अभिवादन ! वा यस्तो पो अभिवादन । काली भएर के भो ?मन कति उज्यालो छ । आखिर गोरी त सरको घरैमा छदै थिइन्।
देख्नेहरू भन्छन् सरद सरले बूधनी देवीलाई लाइब्रेरीमा भेट्थे । बूधनी देवीको पढाइ राम्रो हुँदै जानु, ऊ सँग बजारमा नपाइने पुस्तक समेत पाइनु त्यसैका प्रमाण हुन सक्थे ।

सरद सर विदेशका विभिन्न यूनिभर्सिटिमा लेक्चर दिन जान्थे । उनको क्लास नभएका दिन बूधनी टोलाएर बस्थी । सिताका अनुसार एकदिन केटी जमातमा ब्वाइफ्रेन्डको कुरा चल्दा बूधनीले भनी रे ‘मलाई ब्वाइफ्रेन्ड बूढा मन पर्छ । पैसा पनि कमाइ हाल्छ सबै काम गरी हाल्छ । राम्ररी पाल्छ ।’

सरद सरलाई जवानी नआएको पनि हैन । पहिल्यै आयो । त्यत्तिकै गयो । त्यो पोस्टकार्ड साट्ने जमानाको जवानी असाध्यै असहज । प्रतिकूल समयमा जन्मिनु परेकोमा सरद सरको मन हूँक्क हूँक्क हुन्छ अचेल । धेरै केटीले सरद सरको अटो भरे । सायरी पनि लेखे । तर उनको मन भरेनन् । प्रेम र प्रणयका एक शब्द पनि लेखेनन् । उन्लाई पूरानो डायरी खोतल्न मन लाग्छ कहिलेकाहिँ । 

जब अतीत सल्बलाउन थाल्छ, जब सरद सर अठार–बीस वर्षको उमेरमा फर्कन्छन् । उनलाई उनका सेता कपाल एकाएक काला भएझैँ लाग्छ । मन चङ्गा जस्तै उड्न थाल्छ । चाउरिएका अङ्ग प्रत्यङ्ग सल्बलाउन थाल्छन् । कौतुहलमय काउकुतीले कसो गरुँ कसो गरुँ हुन्छ उनलाई । अनि सम्झन्छन् उही बूधनी देवीलाई ।

लाइब्रेरीको पल्लो कुनामा  एकदिन बूधनी देवीले कस्तो–कस्तो अनुभव गरी । सरद सर उसलाई यूरोप टूरको बारेमा सुनाउँदै थिए । यूरोपको समाज, विश्वविद्यालय, रहनसहन, कल्चर आदि । उनी भन्दै थिए त्यहाँ त शिक्षक र विद्यार्थी जति आत्मीय साथी कोही नहुने । यही कुरा बुधनी देवीको मनमा बस्यो । अनायासै एकै क्षणमा सरद सर उसको आत्मीय साथी बने । ऊ सरद सरको असिस्टेन्ट बनेर देश–विदेश घुमेको कल्पना गर्न थाली । थाहा छैन उसले आफ्नो उमेर बढाइ वा सरद सरको उमेर घटाई सर प्रति उसको प्रेममय दिलचस्पी बढेर गयो ।

त्यो दिन सम्झिएरै बूधनी देवी सरद सरको सम्मुख भई । आँखा जुधाई र विस्तारै–विस्तारै लयदार वाक्य बोली–

‘साथी हुनुको सम्बन्धले सरलाई म मेरो कमरामा खाना खुवाउँछु । सरले मिलाइ हाल्नुपर्यो ।’

सरद सरका आँखा मात्र ठूला भएनन् मन पनि तन्कियो । उनले मुटुको तेज धड््कन महशुस गरे । मुख उज्यालो भयो । गाला रसिला भए । उनले मार्कर समाते झैँ निसङ्कोच बूधनीको हात समाते र भने–
‘अवश्य, अवश्य आउँछु ।’

देख्नेहरू भन्छन् त्यो दिन उनी विश्वविद्यालयको क्वाटरमा जाँदा सुसेल्दै, उफ्रदै, कम्मर मरक–मरक पार्दैै, गुन्गुनाउँदै गए रे ।

‘थोडा सा प्यार हुवा हे, थोडी हे बाँकी .......’ सायद बुढाले गाए पनि की । 

सरद सर खाना खान आउने अघिल्लो रात बूधनीलाई पटक्कै निद्रा परेन । उसका मनमा अनेकन मिठा–नमिठा कुराहरू खेल्न थाले । उसले हिडेको चौरस्ताभन्दा फराकिलो सडकमा थिई ऊ आजकल । अझै सरद सरले वर्णन गरेको संसार कति फराकिलो हुँदो हो ?उसलाई सरद सरकै हात समातेर घुम्न मन लाग्यो । सरद सरको अथाह ज्ञानको भण्डारमा उसलाई लुट्पुटिन मन लाग्यो । कति रमाइलो कल्पना ।

सोच्दा–सोच्दै त्यो दिन ऊ दुःखी पनि भई । सरद सरको कपाल फुलेको उसलाई मन परेन । सरद सरको कपाल किन झ¥यो ? ऊ चिन्तित भई ।

सोच्दा–सोच्दै आधी रातमा निदाइछे ऊ । उसले सरद सरसँगै समुद्रको बीचमा आङ तन्काएर घाम तापेको सपना देखि । ब्युझेर उसले कल्पना गरी – ‘सरद सरलाई टिसर्ट र हफ प्यान्टमा कस्तो देखिएला?’

ऊ बिहानै देखि फुरुङ्ग थिई । उसलाई तयारी गर्नु थियो सरद सरको आगमनको । उसले कोठा चिटिक्क बनाई । कचौरामा गेडागुडी भिजाई अनी बजार तिर लागि । बजारमा ऊ तरकारी पसल गई, त्यसपछि माछा पसल गई, कस्मेटिक पसल गइ र फर्किदा कपडा बजार हुँदै घर फर्किई ।

बाह्र–एक–दुई ..... ।

घडीले साँझको छ बजायो । नभन्दै सरद सर बुधनीको ढोकामा टुप्लुक्कै आइपुगे । बूधनी ‘गूड आफ्टरनून सर’ को पोजिशनमा उहिल्यै ढोकामा खडा थिई । कोठा खानेकुराको बास्नाले मगमगाइ रहेको थियो । 

ढोकाबाट छिर्ना साथ रातो पेपर ¥याप गरिएको गिफ्ट सरद सरले बूधनीको हातमा थमाइदिए खाना खाने बेलामा सरद सर र बूधनी आमुन्ने–सामून्ने बसे । बूधनीले बनाएका परिकारहरूको प्लेट र कचौराले भूई ढाक्यो ।

‘यो मछलीको चट्नी, यो धनीयाँको चट्नी, यो ममरुम करी, यो गेडागुडीको रस .......... ।’

आम्मामामा बूधनी कति सिपालु !!!

‘खाना कस्तो छ सर ?’ मिठो मुस्कानका साथ बूधनीले भनी–

‘मलाई मिठो बनाउन आउँन्दैन् ।’

त्यहि बेला सरद सरलाई बूधनीले प्रश्न गरेको यादै भएन । उनी उसैलाई हेर्दै थिए । टन्न खाँदै झन्–झन् अतृप्त बन्दै थिए ।मूसूमूसू हाँस्दै थिए । 

खना खाइवरि हिड्ने बेलामा बूधनीले एउटा पोलिथिनको ब्याग दिदैँ भनी– ‘यसमा मेहन्दी र एउटा मलम छ ।’

सरद सर र बूधनीको आँखा जुध्यो । सरद सरलाई अचम्मैसँग लाज लाग्यो ।

उत्ता बूधनीले सरद सरको गिफ्ट खोली । रातो वान पिस थियो । उसले लजाउँदै लगाएर ऐनामा हेरी । उसलाई ऐनामा त्यति राम्री त्यस अघि कहिल्यै देखिएको थिएन । टिमिक्कै मिलेछ, उसलाई सरद सरले पछाडीबाट सुम्सुम्याए जस्तै काउकुती लाग्यो ।

यता सरद सरले बूधनीको गिफ्ट हेरे । कालो मेहन्दी र कपाल उमार्ने मलम थियो । ऐना अगाडी उभिएर आफैँलाई हेरे । आफ्नै चाउरिदै गएको अनुहार फुलेको कपाल झरेको तालु र खुइलिदै गएको आकर्षण । ब्ूधनीलाई किनिदिएको वानपिस सम्झिएर बूढा खाम्राङ खुम्रङ्ग भए । लाजसँगै डर पनि लाग्यो उनलाई । उनले उनकै श्रीमतीले सपिङ गर्ने पसलबाट किनेका थिए वानपिस । कस्तो बुद्धि !!

यत्तिकैमा झसङ्ग हुने गरी श्रीमतीले बोलाइन– ‘समृद्धिका बाबा यता आइस्यो त ।’

उनी थरर्र कामे । आफैँले आफैँललई घृणा गरे ।

मनसायले उनले मोवाइलको म्यासेज बक्स खाले । धेरै कुरा भन्न खोजे भन्नै सकेनन् । धेरै कुरा लेख्न खोजे लेख्नै सकेनन् । हातकमाउँदै –‘बूधनी देवी’ लेखेका थिए उताबाट म्यासेज आयो ‘कपाल उम्रियो सर ??’

प्रोफेसर खाम्राङ् खुम्रूङ्ग भए ।

 

सम्बन्धित समाचार

भानु जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्तको जन्मथलो चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्ने आवश्यकमाथि जोड दिएका छन् ।  तनहुँको भानु नगरपालिका–४ चुँदी र ५ बरभञ्ज्याङ जोड्ने चुँदीखोलामाथि निर्माण

समृद्धिका लागि कला र साहित्य महत्वपूर्ण : मन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन कला र साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित

‘क्रान्तिभ्रम’ अब बजारमा

काठमाडौँ । साहित्यको विभिन्न विधामा कलम चलाउने लेखक शोभाकान्त सुवेदीले आफ्नो पहिलो कृति ‘क्रान्तिभ्रम’ बजारमा ल्याएका छन् । आख्यान विधाका अनेक विधाहरुमध्येको एक विधा लघुकथाको रुपमा रहेको यो कृतिमा पछिल्लो अढाई

‘...त्यति बेला अनि तिमी आमाको दुःख देख्ने छौँ’’

गलेश्वर ।     ‘मनमा दुःखको सागर उर्लिएकै भए पनि     छोडेर सन्तानलाई घरमा माइती गाउँ गए पनि ।     सन्तानको भोक देख्दछिन्, खानाको गाँसगाँसमा      छोराछोरी अटाउँछन् आमाको साससासमा ।।’ शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित


z