• २०८१ बैशाख ७ शुक्रबार

गण्डकी प्रदेशको विनियोजन र आर्थिक विधेयक पारित

kharibot

पोखरा । गण्डकी प्रदेशसभाको आज बसेको बैठकले विनियोजन र आर्थिक विधेयक, २०७६ बहुमतले पारित गरेको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले छुट्टाछुट्टैरुपमा विनियोजन विधेयक र आर्थिक विधेयक पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले बहुमतका आधारमा पारित गरेको हो ।

बैठकमा प्रदेशसभा सदस्य दीपक कोइरालाले बजेटले राजश्व सङ्कलन र करको  दायरा फराकिलो बनाउँदै लैजाने अपेक्षाअनुरुप समृद्धि र विकासमा लक्षित भएको बताए । अर्का सदस्य मणिभद्र शर्माले जनताले तिरेको करबाट उनीहरुले आफू लाभान्वित भएको अनुभूति गर्नुपर्ने बताउँदै आर्थिक पारदर्शिता हुने गरी लक्षित योजना कार्यान्वयनमा आउनुपर्नेमा जोड दिए ।

मन्त्री गुरुङले यही असार १ गते आर्थिक विधेयक २०७६ प्रस्तुत गरेका थिए भने असार ५ गते विनियोजन विधेयक २०७६ सभामा प्रस्तुत गरेका थिए । विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयमा विनियोजित बजेट सम्बन्धमा छुट्टाछुट्टै छलफल भएका थिए ।

आजैका बैठकमा विनियोजन विधेयकअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विनियोजित बजेट सम्बन्धमा सदस्यबाट उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सन्तुलित एवम् समानुपातिक रुपमा बजेट विनियोजन भएको बताए ।

प्रदेशको समृद्धि र विकास सरकारको लक्ष्य रहेको बताउँदै आगामी दिनमा बजेटको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकताका साथ बढाइने उनले बताए । परिवर्तित सन्दर्भमा जनप्रतिनिधि पनि समयसापेक्ष दक्ष हुनुपर्ने औँल्याउँदै उनले बजेटमा तालीम तथा प्रशिक्षण केन्द्रित कार्यक्रमका साथै भौतिक पूर्वाधार निर्माणका कामलाई अघि सारिएको उल्लेख गरे ।

विकास निर्माणका कामको प्रभावकारिताका लागि योजना सञ्चालनसँगै नियमित अनुगमन आवश्यक भएकोमा जोड दिँदै मुख्यमन्त्री गुरुङले सरकारले अनुगमन र मुल्याङ्कनलाई त्यही अनुरुपमा बढाउने धारणा राखे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै