काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकामा तेस्रो भएको छ । गएराती सम्पन्न तेस्रो स्थानको खेलमा चिलीलाई पराजित गर्दै अर्जेन्टिना तेस्रो भएको हो ।
अत्यन्त विवादस्पद र रोमान्चक खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा सर्जियो अग्युरो र पाउलो डिबालाले एक एक गोल गरेका थिए भने चिलीका लागि अर्टूरो भिडालले एक गोल गरेका थिए ।
खेलको पहिलो हाफ अत्यन्त विवादस्पद बनेको थियो । पहिलो हाफको ३७औ मिनेटमा अर्जेन्टिनाका लियोनेल मेसी र चिलीका गरी मेडलले रातो कार्ड पाउदा दुवै टिम १०-१० खेलाडीमा सिमित भएका थिए ।
चिलीका खेलाडी मेडल र मेसीबिचको विवादपछि रेफ्रीले दुवैलाई रातो कार्ड दिएका थिए ।
कोपा अमेरिकाको फाइनल खेल भोलि बिहान आयोजक ब्राजिल र पेरुबीच हुदै छ ।