• २०८१ बैशाख ८ शनिबार

मलेसियालाई पराजित गर्दै नेपाल इस्टर्न रिजनको फाइनलमा

kharibot

काठमाडौँ । एशियन क्रिकेट काउन्सिल (एसीसी) यू-१९ को इस्टर्न रिजन २०१९ प्रतियोगिता अन्तर्गत नेपाल फाइनलमा पुगेको छ ।

आज भएको सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले पराजित गरेर फाइनलमा पुगेको हो ।

मलेसियाले दिएको ८८ रनको लक्ष्य पछाएको नेपालले १५.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि भीम सार्कीले अविजित रहदै सर्वाधिक ३३ रन बनाए भने कप्तान रोहित पौडेलले अविजित ३१ रन बनाएका थिए ।

त्यस्तै पवन सराफले १८, रीत गौतम ३ र खड्कबहादुर बोहोरा शुन्यमा आउट भएका थिए ।

मलेसियाका बलर हैकल मोहद खैरले २ विकेट लिए भने मुहमद आमिरले एक विकेट लिए ।              

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले ४०.५ ओभरमा अल आउट हुदै ८७ रन बनाएको थियो । मलेसियाका लागि मुह्म्मद आमिरले सर्वाधिक २४ रन बनाए भने हैकल मोहमद खैरले १२, वान अमिरुलले ११, अहमद अकमल अलिफले १० रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

नेपाली बलर सागर ढकालले सर्वाधिक ३ विकेट लिएका थिए । ढकालले १० ओभरमा ३ मेडनसहित १६ रन दिएर ३ विकेट लिए । त्यस्तै कुशल मल्लले उत्कृष्ट बलिङ गरेका थिए  

कुशलले ९ ओभरमा ५ मेडन गर्दै १३ रन दिएर २ विकेट लिए ।  त्यस्तै कमलसिंह ऐरी, राशिद खान र तिलक बहादुर भण्डारीले एक एक विकेट लिएका थिए ।

नेपालले अब सिंगापुर र हङकङबीचको विजेतासँग फाइनल खेल्ने छ । फाइनल खेल भोलि हुने छ ।                        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै