• २०८१ बैशाख ७ शुक्रबार

ह्याकरले प्रयोगकर्ताको ५ लाख डलर चोरेपछि

kharibot

जापान । जापानलाई प्रविधिको मामिलामा निकै अघि रहेको मानिन्छ । तर, हालसालै एक एपबाट प्रयोगकर्ताको ५ लाख डलर (करीब ५ करोड ५० लाख रुपैयाँ) चोरी भएपछि एप नै बन्द गर्नुपर्ने भयो । गत बिहीवार जापानको ७–इलेभेन नामक प्रविधि कम्पनीले आफ्नो ७पे एपबाट पेमेन्ट फिचरलाई हटाएको छ ।

यो फिचरको सहायताले थर्ड पार्टीले सयौं ग्राहकको अकाउन्टबाट नक्कली खरीदविक्री भएको देखाएर लाखौं डलर चोरेका थिए । यो फिचर गत जुलाई १ मा मात्रै सार्वजनिक भएको थियो । 

यो एपमा ग्राहकले केवल बारकोड स्क्यान गरेपछि यस एपसँग लिंक्ड भएको क्रेडिट अथवा डेबिट कार्डबाट पेमेन्ट गर्न सकिन्थ्यो । यद्यपि, यो फिचर सार्वजनिक भएको १ दिनपछि नै  अघि नै ग्राहकले आफूले सामान खरीद नै नगरी आफ्नो अकाउन्टबाट पैसा काटिएको गुनासो गरेका थिए ।

याहु न्युज जापानका अनुसार एपमा भएको एक कमजोरीका कारण यस्तो भएको हो । एपमा ह्याकरले कुनै पनि प्रयोगकर्ताको जन्ममिति, ईमेल आईडी र फोन नम्बर भएपछि उसले अन्य ईमेल एड्रेसमा पासवर्ड परिवर्तनका लागि अनुरोध पठाउन सक्थ्यो । 

प्रयोगकर्ताले कुनै जन्ममिति नराखेमा एपमा आफै सन् २०१९ जनवरी १ सेट हुन्थ्यो । त्यसैले यो एप ह्याक गर्न निकै सजिलो थियो । यस विषयमा ह्याकरले सबै प्रयोगकर्तालाई निशाना नबनाई खास प्रयोगकर्तालाई मात्र निशाना बनाएको देखिन्छ ।

यस साइबर आक्रमणमा करीब ९०० ग्राहकको अकाउन्टलाई निशाना बनाइएको थियो र उनीहरुको अकाउन्टबाट नै ५ लाख डलर चोरी गरिएको थियो । ७–इलेभेनले एपमा दिइएको नयाँ फिचर बन्द गरेको र अब कसैले पनि एपमा लिंक्ड कार्डबाट भुक्तानी गर्न नसक्ने बताएको छ । 

एपको वेबसाइटमा अब नयाँ प्रयोगकर्ता पनि दर्ता हुन सक्दैनन् । कम्पनीले अकाउन्ट ह्याक भएका ग्राहकका लागि एक सपोर्ट लाइन सुरु गरिएको र त्यसैबाट उनीहरुको नोक्सानी भरपाइ गरिने पनि जानकारी दिएको छ । 

जापान टाइम्सका अनुसार जापानको अर्थ, वित्त तथा उद्योग मन्त्रालयका एक सदस्यले कम्पनीलाई आफ्नो सुरक्षा व्यवस्था बलियो बनाउन आदेश दिएका छन् भने सेक्युरिटी गाइडलाइन्स अनुसरण नगरेकाले गाली पनि गरेका छन् । त्यस्तै, यस ह्याकिङमा संलग्न हुन सक्ने अनुमानमा दुई व्यक्तिलाई पक्राउ पनि गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै