• २०८१ बैशाख ८ शनिबार

त्रिविमा नतिजा फेरबदल गर्ने गोप्य शाखाका कर्मचारीसहित तीनजनाविरुद्ध मुद्धा दायर

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका कर्मचारीसहित तीन जनाविरुद्ध आरोप पत्र दायर गरेको छ ।  

अख्तियारले त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरुको परीक्षाको प्राप्ताङ्क फेरबदल गरी/गराई नतिजामा अनियमितता गरेको आरोपमा त्रिविको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत रहेका शिक्षक सुरेन्द्र प्रसाद कोईरालाले गोप्य शाखामा कार्यरत शाखा अधिकृत राम बहादुर कर्माचार्यलाई एक लाख ५० हजार दिएर एमए अर्थशास्त्रमा गोल मेडल ल्याउने उद्देश्यले सम्पूर्ण परीक्षार्थीको भन्दा बढी प्राप्ताङ्क हुने गरी अनुचित ढंगले अंक थपाई प्रथम श्रेणीमा प्रथम भई उत्तिर्ण गरेको, सन् २०१९ को दीक्षान्त हुँदा प्रथम श्रेणीमा प्रथम बनेर गोल्ड मेडलको हकदार बनेको, त्यस्तै राम बहादुर कर्माचार्यलाई नै प्राप्ताङ्क थप गर्न लगाई एमए रुरल डेभलपमेन्ट प्रथम श्रेणी हासिल गरेको तथा एमए सोसलोजीको परीक्षामा अनुपस्थित हुँदाहुदै पनि उत्तिर्ण भएको देखिएको जनाएको छ ।

त्रिवि नियन्त्रण कार्यालय बल्खुमा गोप्य शाखामा कार्यरत कर्मचारी राम बहादुर कर्माचार्यले त्रिविको मर्यादा विपरित गोपनियता भङ्ग गरी आफ्नो ओहोदा र पदको दुरूपयोग गरी परीक्षाको परिणाम फेरबदल गर्न सुरेन्द्र प्रसाद कोईरालासँग मिलेमतो गरी कोईरालाले हासिल गरेका अर्थशास्त्र, रुरल डेभलपमेन्ट र सोसियोलोजीको एमएका १५ वटा पेपरमा ३ नम्बर देखी ५० नम्बर सम्म गरी कुल २२४ अंक थप गर्न सुरेन्द्र प्रसाद कोईरालाबाट एक लाख ५० हजार र केदार भट्टराईले हासिल गरेको एमए अर्थशास्त्रको ५ वटा पेपरमा १०/१० नम्बरका दरले ५० अंक थप गर्न सुरेन्द्र प्रसाद कोईराला मार्फत दिएको तीन लाख गरी जम्मा ४ लाख ५० हजार लिई राम बहादुर कर्माचार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ र दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको अख्तियारले बताएको छ । 

अख्तियारले गोप्य शाखाका कर्मचारी कर्माचार्य, भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी भक्तपुरमा शिक्षण सहायक कोइरालालाई साढे ४ लाख बिगो दाबि गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ र दफा ३ को उपदफा (१) अनुसार कारवाहीको माग गरेको छ । त्यस्तै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वरमा का.मु प्रशासनिक अधिकृत छैठौ तहमा कार्यरत राष्ट्रसेवक कर्मचारी केदार भट्टराईलाई तिन लाख बिगो तोकेर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ र दफा ३ को उपदफा (१) बमोजिम कारवाहीको माग गर्दै आरोप पत्र दायर गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै