• २०८१ बैशाख ५ बुधबार

क्यानडाली डालगिल्स बालयौन दुराचारी ठहर : नौ वर्ष कैद सजाय

kharibot

क्यानडाली नागरिक पिटर जोन डालगिल्स

काभ्रेपलाञ्चोक । बालयौन दुराचार आरोपी ६३ वर्षीय क्यानडाली पिटर जोन डालगिल्स बालयौन दुराचारी ठहर भएका छन् । काभ्रेपलाञ्चोक जिल्ला अदालतले आज पिटर बालयौन दुराचारी ठहर्दै कैद तथा क्षतिपूर्ति तोकेको छ । 

जिल्ला न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले अन्तिम सुनुवाइ गर्दै पिटरबाट यौनपीडित दुई जना बालकलाई जनही पाँच लाख क्षतिपूर्ति र एक बालकको हकमा नौ वर्ष र अर्का बालकको हकमा सात वर्ष कैद सजाय तोकेको हो । १२ वर्षको बालकलाई यौन दुराचार गरेको कसुरमा नौ वर्ष र १४ वर्षको बालकको यौन दुराचार कसुरमा थप सात वर्ष कैद ठहर भएको अदालतका स्रेस्तेदार ठाकुरचन्द्र त्रितालले जानकारी दिए । 

यसअघि गत जेठ २७ गते काभ्रे अदालतले यौन दुराचारमा अपराधको कसुरदार ठहर गरी थप पुर्पक्षका लागि धुलिखेल कारागार चलान गरिएको थियो । नयाँ संहिताअनुसार पिटरलाई एक चरणमा कसुरदार कायम गरिएको र अर्को चरणमा सजाय तोकिएको हो । त्रितालका अनुसार पिटरलाई सोमबारै धुलिखेल कारागारमा कैदीका रुपमा राखिएको छ । 

पिटर २०७४ साल चैत अन्तिम साता काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–१ स्थित एक घरबाट बालयौन दुराचारीको आरोपमा पक्राउ परेका थिए । सो घरबाट उनले १२ र १४ वर्षका दुई बालक बन्धक बनाइरोखेको अवस्थाबाट प्रहरीले उद्धार गरेको थियो । 

त्यतिबेला पिटरविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाली बालकलाई ललाईफकाई तथा विभिन्न प्रलोभनमा पारी यौन दुराचार गरेको आरोपमा जिल्ला अदालत काठमाडौँमा मुद्दा चलाएको थियो । पिटरलाई प्रहरीले हिरासतमा राखी अनुसन्धानपछि काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बन्दी अवस्थामा कारगारमा राख्दै आएको थियो । 

सिआइबीको अनुसन्धानबाट पिटरले केही वर्षदेखि काठमाडौँमा हिमालयन कम्युनिटी फाउण्डेशन नामक संस्था सञ्चालन गरी शिक्षा र खानेपानी तथा विभिन्न बालबालिकालाई विदेश घुमाई दिने भन्दै समाजसेवीको आवरणमा साना बालकलाई यौन शोषण गर्ने गरेको खुलेको थियो ।

पिटर यसअघि युएन ह्याबिट्याट अफ्गानिस्तानमा देशीय प्रतिनिधिका रुपमा काम गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनायो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै