• २०८१ बैशाख ११ मंगलबार

‘म यस्तो गीत गाउँछु २’ मा पूजा र पलको जोडी

kharibot

काठमाडौँ । सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलमा अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहको जोडी बाँधिएको छ । लभस्टोरी फिल्म बनाउने निर्देशकको पहिचान बनाएका सुदर्शन थापाकै निर्देशनमा मंगलबार बिहान फिल्मको मनकामना मन्दिरमा शुभ मुहूर्त गरिएको छ ।

मुहूर्त समारोहमा निर्देशक थापा, अभिनेत्री शर्मा र अभिनेता पल उपस्थिति थिए । दशैंपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ । यो फिल्मको गीतमा संगीत भर्ने जिम्मा अर्जुन पोखरेलको काँधमा छ । 'प्रेमगीत' पछि सुदर्शनको हरेक फिल्ममा अर्जुनले संगीत भर्दै आएका छन् । 

फिल्मलाई सौरभ लामाले खिच्नेछन् । पूजा र पलबाहेक फिल्ममा अरु कलाकार फाइनल नभएको निर्देशक सुदर्शन थापाले जानकारी दिए । उनले ‘म यस्तो गीत गाउँछु २’ को घोषणा गएको दुई वर्ष अगाडि आफ्नो जन्मदिनमा गरेका थिए । त्यसबेला फिल्ममा पल र पूजासँगै सलोन बस्नेतको पनि अभिनय रहने बताइएको थियो । तर, फिल्मको मुहूर्त समारोहमा सलोन देखिएनन् । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा यो फिल्म बन्नेछ । 

निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल नयाँ कथामा बन्ने बताएका छन् । फिल्म लभस्टोरी कथामा निर्माण हुनेछ । आउँदो फागुन २३ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्मको अघिल्लो श्रृंखलाको गीतसंगीत निकै चर्चित भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै