• २०८१ बैशाख ४ मंगलबार

पाकिस्तानी प्रधानमन्त्रीको खर्च कटौती गर्ने उपाय अमेरिकाको टाउको दुखाइ 

kharibot

पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खान यही जुलाई २१ देखि तीन दिनका लागि अमेरिका भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री खानले सरकारी खर्च कटौतीका लागि अमेरिकाको कुनै महँगो होटलमा नबसी पाकिस्तानको दूतावासमा बस्ने इच्छा व्यक्त गरेका छन् ।

पाकिस्तानी समाचार पत्रिका डनका अनुसार अमेरिकाका लागि पाकिस्तानी राजदूत असद मजीद खानको आवासमा उनी बस्ने भएका छन् । यसबाट यात्रामा हुने खर्च कम गर्न सकिने प्रधानमन्त्री खानको भनाइ छ । 

तर, त्यहाँको अमेरिकी गोप्य सेवा र शहरी प्रशासनलाई भने यो चित्त बुझेको छैन । अमेरिकी गोप्य सेवाले अमेरिकामा आउने बित्तिकै कुनै पनि अतिथिको सुरक्षाको जिम्मा लिने गर्छ । त्यस्तै, शहरी प्रशासनले पनि वाशिङटनको यातायात प्रभावित नहोस् भनी ध्यान पुर्याउनुपर्छ ।

वाशिङटनमा हरेक वर्ष सयौं राष्ट्रपति तथा प्रधानमन्त्री भ्रमणमा आइरहेका हुन्छन् । यस्तोमा अमेरिकाको संघीय सरकारले शहर प्रशासनसँग मिलेर कुनै पनि अतिथिको भ्रमणबाट सामान्य जनजीवन प्रभावित नहोस् भनी विशेष ध्यान पुर्याउने गरेको छ । 

पाकिस्तानका राजदूतको आवास वाशिङटनको डिप्लोमेटिक एन्क्लेभको बीचमा छ जहाँ जापान, भारत, टर्की लगायत एक दर्जन राष्ट्रको दूतावास छ । 

कुनै पनि देशका अतिथि राष्ट्राध्यक्ष वाशिनमा रहेको बेला अमेरिकाका अधिकारी, नेता, पत्रकार तथा विशेषज्ञ प्रतिनिधिहरु बैठक बस्ने गर्दछन् । तर, दूतावास बैठकको लागि पर्याप्त मात्रामा ठूलो छैन । त्यस्तै, खान अमेरिका भ्रमणमा रहँदा अन्य राष्ट्रका प्रतिनिधि तथा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको आधिकारिक आवासमा पनि जाने तय भएको छ । 

उनी भेटघाटका लागि जाँदा वाशिङटनको सबैभन्दा व्यस्त बाटोको प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले पनि पाकिस्तानी प्रधानमन्त्रीको खर्च कटौतीको यो योजना अमेरिकाको टाउको दुखाइको विषय हुन सक्ने बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै