काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले भृकुटीमण्डप, काठमाडौंमा असार २६ गतेदेखि २९ गतेसम्म १३औं शैक्षिक मेला–२०७६ को आयोजना गर्ने भएको छ । मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको ईक्यानले बताएको छ ।
नेपाली विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणाली, योग्यताअनुसारको अवसर, शैक्षिक संस्थामा प्राप्त हुने छात्रवृत्ति, सुविधा र शिक्षाको गुणस्तरीयताबारे जानकारी दिनु मेलाको उद्देश्य रहेको आयोजक ईक्यानले बताएको छ । यो मेलामा १ लाख ५० हजार सहभागी हुने अपेक्षा छ ।
मेलामा शैक्षिक परामर्श व्यवसायी, स्वदेशी तथा विदेशी शैक्षिक संस्था तथा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड, नर्वे, फिनल्यान्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको सहभागिता हुनेछ ।
शैक्षिक मेलामा चारै दिन रक्तदान, डेन्टल क्याम्प तथा प्राथमिक उपचारका कार्यक्रम गरिने आयोजकले बताएको छ ।
शैक्षिक मेलाको व्यवस्थापन वल्र्ड बिजनेस म्यानेजमेन्ट एन्ड कन्सल्ट्यान्ट प्रालिले गर्दै छ भने प्रस्तुतीकरण ब्रिटिस काउन्सिलको रहेको छ ।